नेपाल – चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउन सक्नुपर्ने बताएका छन् ।
फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धि अध्येता एवम् अनुसन्धानकर्ता रोयल आचार्यले चीनको आगामी पञ्चवर्षीय योजना र नेपालका अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा चीनको १५ औं पञ्चवर्षीय योजनाका विषय समेटिएको थियो ।
राष्ट्रिय सुरक्षा र दीगो विकास,युवा केन्द्रित नीति, सीपमा आधारित नीति, सेवामुलक व्यापार, कृषिमा आधारित उत्पादन, गुणस्तरीय उत्पादन, ग्रामीण विकास, उत्पादन हेरेर लगानी लगायतका विषय योजनामा समेटिएका छन् । उनको प्रतिवेदनमाथि डा.रघु वाग्ले र डा.मुक्ति रिजालले टिप्पणी गरेका थिए ।

विकासको दीर्घकालीन सोच र कार्यबारे चीनबाट सिक्न सकिने उनीहरुको भनाइ थियो । चीनले हरेक योजना कार्यान्वयनमा सफलता हासिल गरेको भन्दै उनीहरुले नेपालमा योजना कार्यान्वयनमा सबैभन्दा बढी लापरवाही हुने गरेको औंल्याए ।
चीनले तीव्र गतिमा आर्थिक विकास गरिरहेकाले चाँडै विश्व शक्तिको पहिलो नम्बरमा आफूलाई उभ्याउन सफल हुने उनीहरुको दाबी छ । चीनले आफ्नो मात्र नभई संसारकै गरिबी निवारणमा महत्त्वपूर्ण योगदान दिएको समेत उनीहरुको भनाइ छ । संस्थाका अध्यक्ष शोभित उप्रेतीले वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जलश्रोतविद कृष्णप्रसाद भन्डारी र राप्रपाका नेता श्याम घिमिरेलाई समारोहमा सम्मान गरेका थिए ।






