हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा

  १ घण्टा अगाडि

काठमाडौँ, ८ माघः चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिक रूपमा भूठानको अङ्गे्रजी नाम ‘द वल्र्डस् ह्यापियष्ट म्यान’ नामबाट हालका लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरिएको छ ।

चलचित्र बिस्तारै संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरी काम भइरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले जानकारी दिनुभयो । गत वेशाखमा नेपालमा रिलिज भएको यस फिल्ममा भुटानबाट अमेरिका पुगेका भूटानी शरणार्थीको कथा समेटिएको छ ।

वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भूटान फर्किन गरेको प्रयास र पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस, पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संस्कृति नमिल्दा त्यसले पार्ने प्रभाव देख्न सकिन्छ । चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य हुुनुहुन्छ भने दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन र विमल सुवेदीले पनि अभिनय गर्नुभएको छ ।

विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशाङ्क मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहेका छन् ।

तपाईको प्रतिक्रिया