नेपाली काङ्ग्रेस – विशेष महाधिवेशन: निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

  २ घण्टा अगाडि

काठमाडौँ, २९ पुसः नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ ।

विशेष महाधिवेशनको सोमबारदेखि भृकुटीमण्डपमा जारी बन्द सत्रले आजै गठन गरेको निर्वाचन समितिले एक सूचनामार्फत कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीकाअनुसार केन्द्रीय नेतृत्व निर्वाचनका लागि आजै राति ९ बजेदेखि १ बजेसम्म मतदानको समय तोकिएको छ । सार्वजनिक कार्यतालिकामा दिउँसो १२ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने र मतदाता नामावलीमाथिको दाबी विरोध र छानविन १ः३० बजेसम्म तोकिएको छ ।

त्यस्तै अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे, उम्मेदवार मनोनयन दर्ता २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको नामावली प्रकाशन अपाह्न ४ः३० बजे हुने कार्यतालिकामा उल्लेख छ । यसैगरी उम्मेदवारीमाथि दाबी विरोध साँझ ४ः३० बजेदेखि ५ बजेसम्म, उम्मेदवारीमाथि दाबी विरोध छानविन साँझ ५ देखि ५ः३० बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता ५ः३० देखि ७ः३० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ८ः४५ बजे निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।

कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार नेतृत्व चयन गर्नेभएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरी पार्टीको पुरानो विधानअनुसार निर्वाचन निर्वाचन गरी नेतृत्व चयन गर्न लागेको स्पष्ट गरेको छ ।

पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समिति रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

निर्वाचन समितिका संयोजक केसीले मध्याह्न २ः०० देखि ३ः०० बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम रहेको जानकारी दिनुभयो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि छन् ।

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकिएको छ । कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले पार्टीको विधानअनुसार निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकेको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सभापति पदका लागि रु ३० हजार, उपसभापति र महामन्त्रीका लागि रु २५ हजार, सहमहामन्त्रीका लागि रु २० हजार र केन्द्रीय सदस्यका लागि रु १० हजार तोकिएको जानकारी दिनुभयो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि कायम छन् ।

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ । कांग्रेस विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले पत्रकार सम्मेलन गरी पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि पार्टी संस्थापनलाई स्वामित्व ग्रहण गर्न आग्रह गर्नुभएको हो ।

“महाधिवेशन प्रतिनिधि कांग्रेसको विधानको सर्वोच्च विधायक हुन्, विशेष महाधिवेशनले गरेको निर्णयलाई मानेर पार्टी अगाडि बढ्नुपर्छ, विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रचारप्रसार समितिका संयोजक पोखरेलले पार्टी सभापतिले आफ्नो जिम्मेवारी छोड्नुपर्ने, विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्ने र आगामी निर्वाचनमा सभापति उम्मेदवार बन्न नहुने बताउनुभयो ।

पार्टी नेतृत्वले महाधिवेशन प्रतिनिधिलाई हेप्ने काम गर्न नहुने उहाँको भनाइ थियो । उहाँले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विशेष महाधिवेशनले ठूलो सहयोग पुगेको बताउनुभयो । आगामी दिनमा कांग्रेसभित्र भागबण्डाको अन्त्य हुुने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया