काठमाडौँ, २८ पुस : प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गर्नुभएको छ ।
आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाउनुभएकोमा बधाइ ज्ञापन गर्दै सफलताको शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायल बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकामा खुसी व्यक्त गर्नुभयो ।
त्यसैगरी दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पु-याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।
साथै, हालै मात्र दुई मुलुकबीचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी ‘प्रोटोकल’हरु पारित भएकामा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने जानकारी गराउनुभयो ।
प्रधानमन्त्रीले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा इजरायल सरकारलाई धन्यवाद दिँदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको जानकारी गराउनुभयो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा केही थप महत्वपूर्ण कार्यको थालनी गर्ने कुरामा जोड दिइएको थियो । रासस ।






