अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ

  २ घण्टा अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गर्नुभएको छ । आज च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको मुखपत्र नवयुग ई-बुलेटिनको शुभारम्भ गर्दै उहाँले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घरेबन्दी तोड्ने र पार्टी फेरि अघि बढ्ने बताउनुभयो । उहाँले महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा जोड दिनुभयो ।

“यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो । त्यसैले यसलाई सफल बनाउनु पर्दछ,” उहाँले भन्नुभयो, “महाधिवेशन नेपाली जनता र देशको भविष्यको लागि आवश्यक छ ।”

उहाँले जनताको शक्तिलाई निर्णायक शक्तिमा बदल्नका लागि महाधिवेशन आयोजनासमेत गरिएको बताउनुभयो । अध्यक्ष ओलीले स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्नेमा जोड दिनुभयो ।

“हामीले चुनावलाई पर्खिरहेका छौँ । चुनावबाट आउने सरकार एमालेको हुन्छ,” उहाँले भन्नुभयो, “पुराना पार्टीमध्ये एमाले चुनावपछि उदाएर आउने छ ।” एमाले महासचिव शङ्कर पोखरेलले आजको जटिल अवस्थाको नेतृत्व गर्न सक्ने र मुलुकलाई लोकतन्त्रतर्फ फर्काउने पार्टी र नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

एमालेको महाधिवेशनलाई प्रतिगमनविरुद्धको सङ्घर्ष र जनसङ्घर्षको कार्यक्रमका रूपमा परिभाषित गर्नुपर्ने उहाँको भनाइ थियो । महासचिव पोखरेलले राष्ट्र निर्माणको योजनाकार एमाले भएको बताउँदै उहाँले देशको राजनीति एमालेको वरिपरि घुमेको बताउनुभयो । उहाँले पार्टीमा यतिबेला प्रतिष्पर्धा नभई एकता खाँचो रहेको भन्दै केपी शर्मा ओलीलाई नेतृत्वमा स्थापित गरेर सबै त्यसमा एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो ।

महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले प्रभावकारी रूपले महाधिवेशन र पार्टीका गतिविधि प्रचार गर्न नवयुग ई–बुलेटिन प्रकाशनमा ल्याइएको बताउनुभयो । उहाँले महाधिवेशनको प्रचारप्रसार अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । आज सुरु गरिएको ई–बुलेटिनमा हरेक दिन बेलुका ७ बजे महाधिवेशनको गतिविधि प्रकाशित गरिने बताउनुभयो । RSS

तपाईको प्रतिक्रिया