‘एसिया–प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु

  मंसिर २१, २०८२

काठमाडौँ, २० मङ्सिरःस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरुलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको स्वीकार गर्नुभयो ।

“ज्येष्ठ नागरिक रोग विशेषज्ञहरुको पदहरू सिर्जना गर्न आवश्यक छ । नर्सहरुको पनि थप दरबन्दी सिर्जना गर्नुपर्छ । आर्थिक रूपमा कमजोर राष्ट्र भएर पनि हामीले ज्येष्ठ नागरिकका लागि सकेसम्म उत्तम सेवा दिन प्रयास गरिरहेका छौँ,” उहाँले भन्नुभयो । देशमा ३० लाख हाराहारी ज्येष्ठ नागरिकहरुको जनसङ्ख्या छ । ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले जनसङ्ख्याको अनुपातमा विशेषज्ञहरु पर्याप्त नरहेका बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाल नेपालमा १० जना दर्ता गरिएका ज्येष्ठ नागरिक रोग विशेषज्ञहरु छन् जसमा ६ जना मात्र स्वदेशमा छन् ।” जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा उमेश बोगटीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई सधैँ सबल राख्न क्षेत्रीय साझेदारी अत्यावश्यक भएको बताउनुभयो ।

सम्मेलनमा नेपालसहित २० भन्दा बढी देशका विभिन्न रोगका विशेषज्ञ चिकित्सक, ज्येष्ठ नागरिकविज्ञ, अनुसन्धानकर्ता तथा विभिन्न विश्वविद्यालयका प्राध्यापक सहभागी छन् ।rss

तपाईको प्रतिक्रिया