काठमाडौं, ३ मङ्सिर : विश्वभरका प्रमुख वेबसाइट तथा एपहरू केही घण्टासम्म आकस्मिक रूपमा अवरुद्ध भएपछि इन्टरनेट संरचना सेवा प्रदायक कम्पनी ‘क्लाउडफ्लेयर’ ले यसलाई आन्तरिक समस्या भएको स्पष्ट गरेको छ। सोमबार रातिदेखि देखिएको उक्त अवरुद्धका कारण ChatGPT, Canva, Spotify लगायतका थुप्रै साइट विश्वभर काम गर्न रोकिएका थिए।
क्लाउडफ्लेयरका अनुसार प्रणालीमा प्रयोग गरिने सुरक्षा तथा बोट–फिल्टरिङका लागि स्वतः उत्पन्न हुने एउटा कन्फिगरेसन फाइल आकस्मिक रूपमा अत्यधिक ठूलो बनेपछि विभिन्न सर्भरहरूले अनुरोध प्रशोधन गर्न नसक्ने अवस्था आएको थियो। उक्त फाइल “अपेक्षाभन्दा धेरै ठूलो” भएपछि क्लाउडफ्लेयरको विश्वव्यापी नेटवर्कमा ५०० ‘Internal Server Error’ देखिन थालेको कम्पनीले जनाएको छ।
समस्या सुरु हुने समयअनुसार केही अविश्वसनीय ट्राफिक (unusual traffic) देखिए पनि कम्पनीले यस घटनामा कुनै किसिमको साइबर आक्रमण नभएको बताएको छ। “यो पूर्ण रूपमा आन्तरिक कन्फिगरेसन सम्बन्धी प्राविधिक त्रुटि हो, बाह्य आक्रमण होइन,” क्लाउडफ्लेयरले स्पष्ट गरेको छ। विश्वभर लाखौँ प्रयोगकर्ता प्रभावित भएका कारण धेरै सेवा प्रदायकले केही घण्टा काम गर्न सकेनन्।
आपतकालीन सुधार (patch) लागू गरेपछि धेरैजसो साइटहरू पुनः सञ्चालनमा आइसकेका छन्। तथापि केही प्रयोगकर्ताले अझै पनि उच्च त्रुटि दर (higher-than-normal error rates) देखिन सक्ने भन्दै कम्पनीले नेटवर्क स्थिर बनाउन निरन्तर निगरानी गरिरहेको जनाएको छ।
इन्टरनेटको ठूलो भाग क्लाउडफ्लेयरजस्ता केही संरचना प्रदायकमा निर्भर रहने भएकाले यस्तो प्रकारको प्राविधिक समस्या आएमा विश्वव्यापी रूपमा डिजिटल सेवा प्रभावित हुने विशेषज्ञहरूको भनाइ छ। यस घटनाले इन्टरनेट पूर्वाधारको संवेदनशीलता पुनः एकपटक उजागर भएको विश्लेषण गरिएको छ।






