दृष्टिबिहीन महिला टी–२० विश्वकप : नेपालको विजयी सुरुवात

  १ घण्टा अगाडि

 काठमाडौँ, २६ कात्तिक : नेपालले भारतमा जारी दृष्टिबिहीन महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।

नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई नौ विकेटले हरायो । जितका लागि ८८ रनको लक्ष्प पछ्याएको नेपालले ५.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

नेपालका लागि ओपनर मनकेसी चौधरीले सर्वाधिक अविजित ६१ रन बनाउनुभयो । उहाँले २२ बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै बिनिता पुनले १३ र सुस्मा तामाङले अविजित चार रन जोड्नुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । श्रीलङ्काको लागि मिहिरानी दुलान्जलीले सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै सान्दुनी सौमाया १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालकी कान्ती योगीले तीन विकेट लिनुभयो । बिनिता पुन र लक्ष्मी लामाले एक एक विकेट झार्नुभयो । नेपालकी मनकेसी चौधरी प्लेयर अफ दि म्याच हुनुभयो । नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ ।

विश्वकपमा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् । दृष्टिविहीन महिला टी–२० विश्वकप पहिलो पटक आयोजना भएको हो । 

तपाईको प्रतिक्रिया