पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र

  २ घण्टा अगाडि

काठमाडौँ, २६ कात्तिक : विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ ।

कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थाीनयवासीको गुनासो छ । आयोजनाले सूचना पाटीसमेत नराखी कालोपत्र उप्काएर के गर्न खोजेको हो भन्ने थाहा नभएको स्थानीयवासी मङ्गलबहादुर तामाङले गुनासो गर्नुभयो । कालोपत्र भइरहेको र त्यति धेरै नबिग्रिएको सडक भत्काएर स्रोतको दुरुपयोग भइरहेको उहाँको भनाइ छ । अपारदर्शी रूपमा हुने यस्ता काम रोकिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामा भने आस्फाल्ड प्रविधि प्रयोग गरेर कालोपत्र राम्रो हुने भएकाले दुई विश्व सम्पदा क्षेत्रलाई राम्रो सडक बनाउने उद्देश्यले यस्तो कालोपत्र गर्न लागिएको बताउनुहुन्छ । महानगरपालिका सार्वजनिक निर्माण विभागले छिटो गरी यो सडक निर्माण सक्ने जनाएको छ ।

विभागका तर्फबाट साइट इञ्चार्जका रूपमा खटिनुभएका इञ्जिनीयर प्रफुल्ल गर्तौला मङ्सिरसम्ममा करिब चार किलोमिटर लामो सडक कालोपत्र सकिने बताउनुहुन्छ । रु दुई करोड लागतमा सडक कालोपत्र भइरहेको उहाँले सुनाउनुभयो ।
रासस

तपाईको प्रतिक्रिया