सिन्धुपाल्चोक, २४ कात्तिक : चीनको स्वाशासित क्षेत्र तिब्बतको न्यालम भन्सारले तातोपानी नाका आउन लागेका मालबस्तु बोकेका कन्टेनरहरु जाँचपास गर्न ढिलाइ गरेका कारण अझै सोही क्षेत्रमा ६ सयभन्दा बढि कन्टेनर उतै रोकिएका छन् ।
न्यालम भन्सारले मालबस्तु बोकेका कन्टेनर जाँचपास गर्न ढिलाई गर्दा तिब्बतको न्यालम, खासा, रमिते लगायतका स्थानमा कन्टेनरहरु रोकिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो । सामान जाँचपास गर्न ढिलाई गरेका कारण तातोपानी नाका हुँदै तातोपानी भन्सार पठाउन लागिएको अर्बौको सामान अलपत्र अवस्थामा परेको उहाँले आरोप लगाउनुभयो ।
न्यालम भन्सारलाई सामान जाँचपास छिटो गराउनका लागि नेपाल सरकारले चीन सरकारसँग कुटनीतिक पहल गर्न बस्नेतले नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । न्यालम भन्सारले दैनिक उपभोग्य बस्तु, लत्ताकपडा, फलफुलजन्य बस्तुभन्दा विद्युतीय सवारीसाधान जाँचपास गर्न प्राथमिकता दिएपछि अरु बस्तु जाँसपासमा ढिलाइ हुनु पुगेको न्यालम भन्सारले जनाएको बस्नेतले बताउनुभएको छ । इलेक्ट्रोनिक गाडीहरुको जाँचपासका साथै अन्य मालबस्तु जाँचपास गर्न व्यापारी व्यवसायीले न्यालम भन्सारलाई आग्रह गरेपनि उसले कसैको कुरा सुन्नेमा चासो नदिएको व्यापारीहरुले जनाएका छन् ।
असार २४ गते केरुङ नाकाको मितेरी पुलसहित संरचना बाढीले बगाएपछि त्यहाँको सम्पूर्ण व्यापार तातोपानी नाकामा व्यापार ‘डाइभर्ट’ भएको थियो । तर साउनको अन्तिम सातादेखि तातोपानी नाकास्थित कोदारी सडकखण्डको इको पहिरोले करिब दुई महिना नाका सडक बन्द भएको थियो । यद्यपि, अहिले तातोपानी नाका सडकको अवस्थामा सहज हुँदा न्यालम सरकारले मालबस्तु बोकेका कन्टेनर जाँचपासमा ढिलाइ गर्दा व्यापारी व्यवसायीलाई थप मर्का परेको छ । चाडपर्वका समयमा रसुवा र तातोपानी नाका अवरोधले व्यापारी व्यवसायीले मुस्ताङस्थित कोरोला नाकाबाट पनि सामानहरु राजधानी भित्र्याएका थिए । फलफुलजन्य र मसलाजन्य बस्तु तातोपानी नाकास्थित इको पहिरो क्षेत्रबाट मजदुरलाई बोकाएर तारिएको थियो ।
अहिले पनि फलफुजन्य बस्तु न्यालम भन्सारमा थन्किएको छ । अन्तर्राष्ट्रिय अभ्यासअन्तर्गत फलफुलजन्य बस्तुलाई ‘ग्रिन च्यानल’ प्रणालीअन्तर्गत छिटो क्लियरेन्स गर्नुपर्ने अभ्यास छ । तर न्यालम भन्सारले त्यस्ता बस्तु र सामान जाँचपास गर्न अलमल र ढिलाइ गरिरहेका अध्यष बस्नेतले जानकारी दिनुभयो । त्यस्ता मालबस्तुलाई छिटो जाँचपास गराएर तातोपानी भन्सार पठाउन व्यावारी व्यवसायीले न्यालम प्रशासनलाई आग्रह गरिरहेका छन् । तर न्यालम प्रशासन र भन्सार कार्यालयले बेवास्ता गरिरहेको छ । तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडाँलले तातोपानी भन्सार कार्यालय, नाका सडकमा केही समस्या नभएको भए पनि न्यालम भन्सारले मालबस्तु जाँपास गरेर पठाउन ढिलाइ गरेको बताउनु भएको छ ।
न्यालम क्षेत्रमा रोकिएका कन्टेनरमा जाडोयामका सामान, कपडा, जुत्ता, इलोक्ट्रोनिक बस्तु, रेडिमेड सामान, विद्युतीय उपकरणलगायतका सामान रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष इन्द्र राउतले बताउनुभयो । न्यालम भन्सारले दैनिक १५ वटा सङ्ख्यामा कन्टेनर जाँपास गरेर तातोपानी नाका पठाउने गरेको छ । उक्त सङ्ख्या विगतका तुलनामा अति कम हो । वर्षा अघि ५० देखि ६० वटा कन्टेनर जाँचपास गरेर न्यालम भन्सारले तातोपानी नाकामा कन्टेनर पठाउने गरेको थियो ।





