काठमाडौँ, २३ कात्तिक : शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ।
आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गराइएको बारे’ विर्षकको एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै शिक्षामन्त्री पुनले यस्तो जानकारी गराउनुभएको हो।
शिक्षामन्त्री पुनले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँदछु।’
उहाँले शिक्षक महासङ्घ, प्राध्यापक सङ्घलगायत शिक्षा क्षेत्रमा क्रियाशील सङ्घ सङ्गठनलाई गैरराजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्नुभएको छ।






