गर्भवतीलाई पोषण भत्ता वितरण

  कार्तिक २४, २०८२

तनहुँ, २३ कात्तिक : व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ ।

नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही रु पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई रु १२ लाख २५ हजार र चालु आवको साउनदेखि असोजसम्म ५२ जनालाई रु दुई लाख ६० हजार रकम प्रदान गरिएको हो ।

गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत उनीहरुलाई रकम प्रदान गरिएको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको छ । गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले पोषण भत्ताको व्यवस्था गरिएको महिला विकास निरीक्षक जानुका सुर्खालीले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक स्वास्थ्य परीक्षण गराउका गर्भवतीलाई आठ महिनापछि रु पाँच हजार प्रदान गरिने उहाँले बताउनुभयो । यसअघि गर्भवतीलाई नगद नै वितरण गर्ने गरिएको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षमा डिजिटल प्रविधिबाट अपाङ्गता भएकालाई परिचयपत्र वितरण कार्य थालिएको छ । चालु आर्थिक वर्षमा ‘क’ वर्गको दुई, ‘ख’ वर्गको २९, ‘ग’ वर्गको १८ तथा ‘घ’ वर्गको सात जनालाई परिचयपत्र वितरण गरिएको सहायक महिला विकास निरीक्षक शर्मिला जम्मरकट्टेलले जानकारी दिनुभयो । गत वर्ष एक सय ९० जनालाई यस किसिमको परिचयपत्र प्रदान गरिएको थियो ।
रासस

तपाईको प्रतिक्रिया