गलकोट (बागलुङ), २३ कात्तिक : मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा सहयोग रकम सङ्कलन सुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो ।
कथावाचानको पहिलो दिन शनिबारदेखि उल्लासपूर्ण सहभागितामा सहयोग सङ्कलन सुरु भएको आश्रमले जनाएको छ । शनिबारमात्र आश्रम निर्माणका लागि रु ५५ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । कथावाचनको पहिलो दिन नै तीनवटा कोठा निर्माण सहयोग जुटेको छ भने अन्य दाताले रु पाँच हजारदेखि रु एक लाख ५० हजारसम्म सहयोग गरिरहेका छन् ।
शनिबार बागलुङ नगरपालिका–४ का रामनारायण पौडेल र पार्वती पौडेलले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि एक कोठा बराबरको रकम सहयोग गर्नुभएको छ । बागलुङ शाखाको भवन निर्माण गरी सहयोपेक्षी सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा पौडेल परिवारले भवनको एक कोठा निर्माणमा लाग्ने रकम उपलब्ध गराउनुभएको हो । उहाँहरूले रु पाँच लाख ११ हजार योगदान गर्नुभएको आश्रमले जनाएको छ ।
यस्तै बागलुङ नगरपालिका–४ नम्बर वडा कार्यालयले आश्रमको एक कोठा निर्माण गर्ने जिम्मेवारी लिएको छ । वडा कार्यालयले भवनको एक कोठा निर्माणका लागि रु पाँच लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ । महायज्ञस्थलमा आयोजित कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले उक्त सहयोग गर्नुभएको थियो ।
वडा कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिँदै आएकामा मानवसेवा आश्रमको भवन निर्माणमा समेत हातेमालो गरेको हो । वडा कार्यालयले गरेको यस अर्थपूर्ण सहयोगले भवन निर्माण अभियानलाई थप गति प्रदान गरेको आश्रमले जनाएको छ । आश्रमले सडकआश्रित, असहाय र अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनामा निरन्तर काम गर्दै आएको छ । आफ्नै भवन निर्माणपछि सेवा विस्तारमा सहजता हुने विश्वास व्यक्त गरेको छ ।
यस्तै काठेखोला गाउँपालिका–५ फूलपातीडाँडा विहुँकोट बागलुङका भीमकुमारी निउरे र लीलाराम निउरेद्वारा मानवसेवा आश्रम शाखाको भवन निर्माणका लागि रु पाँच लाख ११ हजार सहयोग गर्नुभएको छ । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने छ । महायज्ञमा कमलनयन गौतमले कथा वाचन गर्नुभएको छ ।
–रासस





