राजस्व छली प्रकरण : कर अधिकृत र ठेकेदारविरुद्ध एक करोडकाे मुद्दा

  ५ घण्टा अगाडि

काठमाडौँ, २० कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध मुद्दा दर्ता भएको छ । 

आयोगले राजस्व चुहावटमा संलग्न भई गैरकानूनी लाभ उठाएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्त कार्यबाट नेपाल सरकारलाई रु. एक करोड २३ लाख ६९ हजार ६४९।६९ बराबरको हानि भएको देखिएको र सोही रकम बराबर जरिवाना र कैद सजायको मागसहित मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार, जिल्ला मोरङको सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ मा गछिया खोलाबाट बालुवा–गिट्टी उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग रु. ९ करोड ५१ लाख ५१ हजार १५१।५० (भ्याट बाहेक) रकममा ठेक्का सम्झौता गरेको थियो । सो ठेक्का वापत बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रु. १ करोड २३ लाख ६९ हजार ६४९।६९ आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरी राजस्व छली गरिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

अनुसन्धानका क्रममा कर अधिकृत आले र निर्माण कम्पनीका प्रबन्ध निर्देशक बस्नेतबीच मिलेमतो गरी झुटा लिखत बनाई राजस्व छली गरिएको र नेपाल सरकारलाई हानि पुराइएको प्रमाण भेटिएको आयोगले जनाएको छ ।

अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ९, १७ र २२ बमोजिम सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

तपाईको प्रतिक्रिया