‘स्वास्थ्य, सन्तुलन र शान्तिको मार्ग – योग अभ्यास’

  ९ घण्टा अगाडि

आधुनिक जीवनशैलीको व्यस्तता, तनाव र अनियमित दिनचर्याले मानिसलाई शारीरिक र मानसिक रूपमा थकित बनाइरहेको आजको समयमा “योग” एउटा प्राकृतिक उपचार र सन्तुलित जीवनको बाटो बनेको छ । योग अब केवल साधना वा धार्मिक कर्म होइन, यो आधुनिक स्वास्थ्य व्यवस्थाको अभिन्न अङ्ग बनेको छ ।

योगको परिभाषा
शारीरिक आसन, श्वास–प्रश्वासको नियन्त्रण र ध्यानमार्फत शरीर, मन र आत्माको सामञ्जस्य स्थापित गर्ने अभ्यासका रूपमा गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, योग शरीरको लचकता, मानसिक सन्तुलन र आन्तरिक उर्जाको विकासमा केन्द्रित एउटा समग्र स्वास्थ्य अभ्यास हो। योग केवल रोग उपचार होइन, रोग नहुने अवस्थासम्म शरीरलाई तयार पार्ने निवारक उपाय हो ।

योग आधुनिक युगमा केवल स्वास्थ्यको उपाय होइन, जीवनशैलीको नयाँ दृष्टिकोण हो । बिहानको हल्का उज्यालोमा, न्यानो धर्तीमा, हावाको मृदु स्पर्शका बीचमा योग अभ्यास गर्दा शरीर ताजगी महसुस गर्छ, मन शान्त हुन्छ र आत्मा सन्तुष्ट हुन्छ ।

योग अभ्यासका फाइदाहरू

१. शारीरिक स्वास्थ्यमा सुधार:
नियमित योग अभ्यासले शरीरलाई लचिलो, सशक्त र रोगप्रतिरोधात्मक बनाउँछ। आसन र प्राणायामका अभ्यासले रगतसञ्चार सुधार गर्छ, मुटु र फोक्सोको क्षमता बढाउँछ र शरीरमा विषाक्त पदार्थ हटाउन मद्दत गर्छ ।

२. मानसिक शान्ति र एकाग्रता:
योग ध्यान र श्वास–प्रश्वास नियन्त्रणमार्फत तनाव, चिन्ता र निराशा घटाउँछ। अध्ययन, कार्यालय वा दैनिक काममा एकाग्रता बढाउन योग अत्यन्त प्रभावकारी माध्यम हो ।

३. जीवनशैलीमा सन्तुलन:
योग अभ्यासले अनुशासन, धैर्य र आत्मनियन्त्रण सिकाउँछ। यो केवल व्यायाम होइन, जीवन बाँच्ने कला हो जसले मानिसमा सकारात्मक सोच, आत्मविश्वास र जिम्मेवारीको भावना जगाउँछ ।

४. रोग निवारण र उपचारमा सहयोगी:
अस्थिर र अस्वस्थ जीवनशैलीबाट उत्पन्न हुने रोग—जस्तै उच्च रक्तचाप, मधुमेह, मोटोपन, अनिद्रा र टेन्सन—नियन्त्रणमा योग प्रभावकारी माध्यम हो ।

५. आध्यात्मिक र सामाजिक समृद्धि:
योगले आत्म–चिन्तन र आन्तरिक चेतनाको विकास गर्छ। जब व्यक्ति स्वयंमा शान्त र सन्तुलित हुन्छ, समाजमा पनि शान्ति, सहअस्तित्व र सकारात्मक उर्जा फैलिन्छ ।

तपाईको प्रतिक्रिया