म खरानी हुँ
साँच्चै खरानी हुँ
तर खरानीको आकृतिमा म जो छु
म खरानी मात्रै होइन !
म सुदूरका कार्यकर्ताले तिरेको रसिद हुँ
पार्टीको झण्डा
र चुनाव चिन्ह सिलाउँदाको आर्थिक अंश हुँ
केन्द्रीय कार्यालयको भित्ताको रङ हुँ
फर्निचर हुँ
शहीदको फोटो
र शहीद दिवसमा किनेको मालाको अंश हुँ
परिवर्तनको आन्दोलनमा
कार्यकर्ताको मुखबाट खोसिएको गाँस हुँ
तमाम जनताको विश्वास
र बलिदानीको सपना हुँ
भन कसरी म खरानी मात्रै हुँ ?
जसलाई तिमी
केवल खरानी भनिरहेछौ,
त्यो थुप्रोमा अलिकति नीति छ
अलिकति नियुक्ति छ
अलिकति व्यापारको बदलाव छ
अलिकति कडा कमिसन छ
अलिकति हाक्काहाक्कीको लेनदेन छ
सुत्केरी श्रीमती स्याहार्न
घरपायक सरुवा माग्ने
कार्यालय सहयोगीको आँसु छ
कार्यालय कार्यालयको गाडी,पेट्रोल र पैसा छ
कार्यालय प्रमुखको छाया छ
सरुवाको सुविधा छ
सञ्चयको शुभलाभ छ
भन कसरी म खरानी मात्रै हुँ !
यो चाङमा के छैन ?
सांसद हुनेको सपना छ
राजदूतको कोसेली छ
मन्त्रीको भरपाइ छ
योजनाहरूकै आयोजना छ
निकासाको नियमन छ
बीचकाहरूको व्यस्तता छ
बिचौलियाहरूको बेचबिखन छ
सबै सबैको
सन्तुलन, संयम र लुकामारी छ
भन कसरी म खरानी मात्र हुँ ।
आफ्नै पुजारी पठाएर
मन्दिरबाट आएको दक्षिणा छ
जङ्गल सफा गरेर आएको अक्सिजन छ
खोला थुनेर आएको पानी छ
अलिकति ढुङ्गा छ
अलिकति बगर छ
केही एयरपोर्ट छ, केही आकाश छ
यसरी संसार अटेको यो थुप्रो
भन कसरी खरानी मात्रै हुनसक्छ !
रुँदै देश छोडेका
डाक्टरहरूको सेतो कोट छ
इन्जिनियरहरूको स्केल, पेन्सिल र कटर छ
कलाकारहरूको कला छ
लेखकहरूको कलम छ
देशको आत्मसम्मान, स्वाभिमान छ
म आफैले कब्जा गरेको
मेरो पार्टी, मेरा कार्यकर्ता
पुराना नेताहरूको इतिहास छ
युवाहरूको सम्पूर्ण सपना र भविष्य छ
सबैलाई जिउँदै जलाएर
जम्मा गरेको यो विरासत
भन कसरी खरानी मात्रै हुनसक्छ ?
आज म खरानी हुँ
तर खरानी मात्रै होइन
अब मलाई छुट्याइदेऊ –
देश बेचेको खरानी
र सपना बेचेको खरानी !
आज मलाई पनि
यही थुप्रो छेउमा उभिएर हेर्न मन छ :
देश बेच्नेहरूको अवसानको खरानी !!





