मतदाता नामावलीमा उत्साहजनक सहभागिता

  ५ घण्टा अगाडि

काठमाडौँ, ३१ असोज : आगामी फगुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा युवाहरूको उत्साहजनक सहभागिता पाइएको छ ।

यही असोज १० गतेबाट सुरु गरिएको मतदाता नामावली सङ्कलन कार्यमा युवाहरुको उत्साहजनक सहभागिता पाइएको हो । अहिले जिल्ला निर्वाचन कार्यलयमा मतदाता नामावली दर्ता गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

नामावली दर्ता गर्न आउने आधिकांश युवानै रहेको निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद भुसालले जानकारी दिनुभयो । ‘‘सुरुमा सुरुमा दुई–चारजना मात्रै आउनुभयो, तर अहिले त दैनिक रुपमा ५० जनासम्म पनि आउनुभएको छ ।’’ भुसालले भन्नुभयो, ‘‘बिहान ८ बजेदेखि दर्ताको काम सुरु हुन्छ । अहिले अनलाइन प्रणालीबाट फर्म भर्न सकिने बनाएकाले सहज भएको छ ।

युवाहरू धेरैजसोले मोबाइलबाटै फर्म भरेर आउनुहुन्छ, हामीले बायोमेट्रिक र इन्टी गर्ने काम गर्छौँ, यसले काम गर्न छिटोछरितो भएको छ । अनलाइन फर्म भर्न नजान्नेहरूलाई हामीले नै सहजीकरण गर्ने गरेको उहाँले बताउनुभयो ।

अहिलेसम्म ४९१ जना नयाँले मतदाताले नामावली दर्ता गराएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो । जसमध्ये ३१४ जना पुरुष र १७७ जना महिला रहेको उहाँले बताउनुभयो ।

कार्यालयमा नाम दर्ता गर्न मोवाइलमा फर्म भर्दै गर्दा भेटिनुभएका मध्यविन्दु नगरपालिका १५ बाट मतदाता नामावली दर्ता गर्न आउनुभएका जेन्जी संगम भण्डारीले पाँच जना साथी मिलेर एकैपटक नाम दर्ता गर्न आएको बताउनुभयो ।

यसपालिको चुनावमा भोट हालेर राम्रो मान्छेलाई जिताउनुपर्छ भन्ने लागेर मतदाता नामावली दर्ता गर्नुपर्छ भन्ने सोच आएकाले साथीहरूसँग सल्लाह गरी नाम दर्ता गर्न आएको उहाँले बताउनुभयो । पहिलो पटक भोट हाल्ने अवसर पाउने भएको हुँदा निकै उत्साहित भएको उहाँले सुनाउनुभयो ।

कार्यालयमा नाम दर्ता गर्न आउनेहरुमा सदरमुकाम समेत रहेको कावासोतीबाट धेरैजना आउनुभएको कार्यालय प्रमुख भुसालको भनाइ छ । जिल्लाको पहाडी पालिकाबाट दर्ता गर्न आउने सङ्ख्या न्यून देखिएको छ । जिल्लाका आठ वटै पालिका जिल्ला हुलाक कार्यालयअन्तर्गतका पालिका हुलाक कार्यालय एवम् सामाजिक सञ्जालमार्फत नाम दर्ता गर्न प्रचारप्रसारको काम गरेको उहाँले बताउनुभयो । मतदाता नामावली दर्ता र अध्यावधिक गर्ने कार्य कात्तिक ३० गतेसम्म कायम रहने छ ।

तपाईको प्रतिक्रिया