अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

  १० घण्टा अगाडि

वाशिङ्टन डिसी (अमेरिका), ३० असोज : विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटका अवसरमा अर्थमन्त्री खनालले एसियाली विकास बैंकले खासगरी पूर्वाधार विकासका क्षेत्रमा नेपाललाई लामो समयदेखि गर्दै आएको योगदानको चर्चा गर्नुभयो । त्यस्तै उहाँले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण बनाउन दृढ रहेको बताउनुभएको यहाँस्थित राजदूतावासले जनाएको छ ।

साथै एसियाली विकास बैंकको लगानीमा हाल निर्माण भएका ठूला पूर्वाधार आयोजना बारे बताउँदै अध्यक्ष कान्डालाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । अध्यक्ष कान्डाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा जिज्ञासा राख्नुभएको थियो । साथै उहाँले नेपाल भ्रमणको निमन्त्रणा दिनुभएकामा धन्यवाद दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफू इच्छुक भएको बताउनुभयो ।

अर्थमन्त्री खनालले आजै विश्व बंैक र अन्तरराष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एसियाली समूहको गभर्नरहरुको बैठकमा बोल्नुहुँदै नेपालमा जलविद्युत् उत्पादन र सूचना प्रविधि पूर्वाधार विकासमा लगानी गर्न आग्रह गर्नुभयो । विकास आयोजनाको कार्यान्वयनमा ढिलाइ भएको चर्चा गर्दै मन्त्री खनालले विश्व बैंकलाई आयोजना कार्यान्वयनका मापदण्ड र निर्देशिकालाई थप सरल बनाउन सुझाव दिनुभयो ।

अर्थमन्त्री खनालले वित्तीय क्षेत्रको स्थायित्वका लागि तयार गरिने विश्वव्यापी मापदण्ड बनाउन आवश्यक भए पनि कार्यान्वयनका क्रममा कुनै देश विशेषको स्थानीय आवश्यकता र परिवेशलाई पनि उत्तिकै ध्यान दिन अन्तरराष्ट्रिय मुद्रा कोषलाई आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।
रासस

तपाईको प्रतिक्रिया