म्याग्दी, २५ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ ।
बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर खेलकुद, सामाजिक र सांस्कृतिककार्यका लागि कवर्डहल निर्माण गरेका हुन् । नगरपालिकाले रु १० लाख उपलब्ध गराएको कवर्डहल निर्माणका लागि उपभोक्ताहरुले थप रु तीन लाख ७० हजार बराबरको श्रमदान गरेका निर्माण समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा कार्यालयले अपुग थप रु दुई लाख रकम भुक्तानीका लागि नगरपालिका कार्यालयमा सिफारिस गरेको छ । पर्याप्त बजेटको ब्यवस्था नहुँदा चार वर्ष लगाएर कवर्डहल निर्माणलाई पूर्णता दिएको अध्यक्ष पौडेलले बताउनुभयो । राजीखोला किनारमा पक्की तटबन्ध बनेपछि संरक्षण भएको खाली सार्वजनिक जग्गा सम्माएर वरीपरि फलामको फिल्लर ठडाएर जस्तापाटाले बारेर कवर्डहल बनाइएको छ ।
कवर्डहलको शुक्रबार बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले शुभारम्भ गर्नुभयो । उहाँले स्थानीयबासीलाई फुर्सदको समय सदुपयोग र शारिरिक कसरतका लागि ब्याडमिन्टन खेल अभ्यास गर्न, प्रतियोगिता आयोजना गर्न, बिवाह, ब्रतबन्ध, भेला, बैठक गर्न सुविधा पुगोस भन्ने उद्देश्यले कवर्डहल बनाएको बताउनुभयो ।
उक्त वडाको तातोपानीमा पनि कवर्डहल निर्माण भएको र थामडाडा टोलमा कवर्डहल बनाउन लागिएको अध्यक्ष खड्काले बताउनुभयो । कवर्डहलमा शुक्रबारदेखि सिंगा ब्याडमिन्टन सङ्घको आयोजनामा प्रथम मनप्रसाद, इन्दु स्मृति पुरुष डि–लेभल ब्याडमिन्टन कप प्रतियोगिता सुरु भएको छ ।