तम्घास (गुल्मी), २३ असोज : नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ ।
विसं २०७७ मा सदरमुकाम तम्घासमा ५० शय्याको नयाँ भवन निर्माण सुरु गरिएको थियो । पुरानो भवनमा साँघुरो गल्ली र साना कोठा मात्र छन् । छ वटा मात्रै बहिरङ्ग कक्ष छन् । ‘भिडियो एक्सरे’ र शल्यक्रिया गर्ने ठाउँमा पानी चुहिन्छ । पानी चुहिँदा विद्युत् सट हुने गरेको छ । पुरानो टिनको छानाबाट सेवा दिनुपर्दा सेवा दिने र लिने दुवैलाई कठिनाइ भएको छ ।
नयाँ भवन नबन्दा ‘आइसियू’ समेत सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका चिकित्सक विभव बस्यालले गुनासो गर्नुभयो । “एउटै कक्षमा दुई÷तीनजना डाक्टर बसेर सेवा दिनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “पुरानो भवनबाट सेवा दिन निकै अप्ठ्यारो छ ।” डाक्टर बस्यालले हाल दैनिक चार सय सम्म बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो ।
भवन निर्माणमा ढिलाइ भएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समितिलगायतले छिटो निर्माणको पहल गरे पनि निर्माण व्यवसायीले कामको गति अघि बढाएनन् ।
“भारतबाट सामान मगाउनुपर्ने छ, आएको छैन भन्छन्”, अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेले भन्नुभयो, “विभिन्न बाहानामा काममा ढिलाइ गरेका छन् ।” सङ्घीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीमार्फत स्वच्छन्द÷बाँनिया जेभी मकवानपुरले अस्पताल निर्माणको जिम्मा पाएको थियो । भवनको कूल लागत रु २५ करोड ६४ लाख २०३ रुपैयाँ १७ पैसा छ । विसं २०७८ असार १८ गते भवन निर्माणको सम्झौता भएकामा त्यसको दुई वर्षभित्र अर्थात २०८० असार १७ गते काम सकिनुपर्ने थियो ।
पछिल्लो समय तीन पटक म्याद थप भई गत २०८१ पुससम्म थप गरिएको छ । आयोजनाका इन्जिनियर सुशील रसायलीले निर्माणको ८० प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।
रासस