मौसम प्रक्षेपणमा सफलता

  ६ घण्टा अगाडि

काठमाडौँ, २१ असोज : दसैँताका नेपालमा ठुलो मौसमी प्रणाली भित्रिँदै छ भनेर जल तथा मौसम विज्ञान विभागले दसैँअघिदेखि नै विशेष मौसम बुलेटिनमार्फत बारम्बार पूर्वसूचना जारी गरिरह्यो । त्यसकै आधारमा सरकारले पनि त्यही अनुसारको उच्च सतर्कता अपनाउँदै पूर्वतयारी ग¥यो । गर्न सक्ने जति सबै खालका तयारी गरेर सम्भावित ठुलो जनधनको क्षति टार्न सफल भयो । विभागका महानिर्देशक कमलराम जोशीले भन्नुभयो, “त्यसरी बारम्बार पूर्वसूचना दिएकै कारण सरकार र आमजनताको समेत ध्यान गयो र दसैँका बेला हुन सक्ने ठुला क्षति रोक्न सकियो ।”

पूर्वसूचना कहिले मिल्ने र कहिले नमिल्ने हुँदा विभागलाई अपजस आउँछ कि भन्ने ठुलो डर थियो तर दसैँअघिदेखि नै निरन्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय मोडल तथा तथ्यहरू विश्लेषण जारी राखेकाले दसैँ सुरु हुनुभन्दा करिब एक साताअघि नै त्यो ठुलो प्रणालीको अधिकतम भाग नेपालमा प्रवेश गर्छ भन्ने निक्र्योल गरिएको महानिर्देशक जोशीले बताउनुभयो ।

दसैँको घटस्थापना अघि पनि एउटा ठुलो प्रणाली नेपालतर्फ सोझिएको थियो तर त्यो प्रणाली आउँदा आउँदै बिचमै कमजोर बनेकाले ठुलो वर्षा नेपालमा भएन । त्यसले विभाग र उसले दिएको पूर्वसूचनाप्रति सरकारको पनि अन्योल बढेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीले सुनाउनुभयो ।

पछिल्लो समय लगातार पूर्वसूचना र सचेतनाका लागि तयार हुन भनिएपछि भने आफूहरूले पनि तयारी सुरु गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले स्वीकार गर्नुभयो ।

विभागका महानिर्देशक जोशीका अनुसार मौसमको पूर्वानुमान जतिसुकै विकसित प्रविधि भएका देशमा पनि शतप्रतिशत मिल्दैन । त्यसको मिलान अधिकतम असीदेखि ९० प्रतिशत हाराहारी नै हुन्छ । नेपालको हकमा त्यो अझ कम रहन्छ । सानो देश भए पनि यहाँ उच्च हिमालदेखि समुद्र नजिकको हावापानीको मौसमयुक्त फरक फरक भूगोल छ । उहाँले थप्नुभयो, “नेपालमा विश्वकै अग्लो सर्वोच्च शिखरदेखि समुद्री सतहनजिकको समतल सतह छ, जहाँको आफ्नै खालको जैविक विविधता र हावापानी छ, यसले आउने मौसमी प्रणालीमा पनि त्यही खालको असर र फरक पार्छ ।” त्यसैले पूर्वानुमान मिल्यो भन्दैमा हौसिने र मिलेन भन्दैमा निराश हुँदै दोषारोपण गर्नुको औचित्य नहुने उहाँ औँल्याउनुहुन्छ तर गरिएका पूर्वानुमानका आधारमा जनधनको क्षति रोक्ने दायित्वका साथ सरकारले तयारी कायम राख्नु सदैव जरुरी हुने ठहर उहाँ गर्नुहुन्छ ।

कतिपय अवस्थामा आउँदै गरेको प्रणाली हिमाली हावासँगै उतै विलीन भइदिन्छ भने कतिपय अवस्थामा अधिक उष्णताका कारण बाफ बनेर तराई भेगबाटै हराइदिन्छ । यस्ता जटिलताबिच मौसम पूर्वानुमान गरेर ठ्याक्कै मिलाउनु भनेको विभागका लागि फलामको चिउरा चपाउनु जस्तै रहेको अनुभव उहाँ सुनाउनुहुन्छ । तथापि नेपालले विगत पाँच वर्षयता पूर्वानुमानको प्रक्षेपणमा धेरै निकटको सफलता हासिल गर्न सकेको दाबी उहाँले गर्नुभयो ।

नेपालसँग पछिल्लो समय आफ्नै मौसमी सूचना आदानप्रदान गर्न सघाउने राडार छ । त्यस्तै विदेशी स्याटेलाइट र मौसमी सूचना विश्लेषण गर्ने मोडलको निःशुल्क पहुँच पनि छ । जसले सूचना आदानप्रदान र विश्लेषण गरेर छिटो पूर्वसूचना दिने क्षमता पहिलेको तुलनामा धेरै हदसम्म बढेको जोशी औँल्याउनुहुन्छ ।

उहाँ सुनाउनुहुन्छ, “यहाँको जटिल भौगोलिक अवस्थिति र उच्चतम तथ्य विश्लेषणका लागि आवश्यक नवप्रविधिको अभावमा कहिलेकाहीँ फेल खाइन्छ, अब लड्यो भन्दैमा घोडा नचढ्नु त भएन, कोसिस गरेर राम्रो पूर्वसूचना दिनु हाम्रो जिम्मेवारी हो ।” सन् २०२२ मा जर्मनी, नेदरल्यान्डलगायतका देशमा ठुलो वर्षा भयो, त्यसको पूर्वानुमान नमिल्दा बाढीले जनधनको ठुलो क्षति पुगेको विकसित देशको उदाहरण उहाँले दिनुभयो । भारत, चीन र अमेरिकामै पनि समुद्री चक्रवातको असर कतिसम्मको ठुलो रहन्छ भनेर पूर्वानुमान गर्नु त्यहाँको सरकारका लागि ठुलो चुनौती रहेको दाबी उहाँले गर्नुभयो ।

पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर बढ्दै गएकाले त्यसका कारण पनि मौसमी चक्र बदलिने क्रम जारी छ । उहाँका अनुसार १० वर्षअघिसम्म असार महिनामा लगातार १०/१२ दिनसम्म झरी परिरहन्थ्यो । साउनमा पनि त्यस्तै हुन्थ्यो तर अचेल त्यस्तो झरी पर्दैन । एकैचोटि ठुला प्रणाली आएर दुई महिनाको पानी केहीबेरमै खन्याएर जान थालेको छ । लगातार पर्ने साना झरीले खासै ठुलो विपत्ति ल्याउँदैन तर एकैचोटि पर्ने ठुला वर्षाले ठुलो बाढी, पहिरो, डुबान जस्ता ठुला विपत्ति क्षणभरमै ल्याइदिन थालेको छ । भएका मेसिनले पनि परिवर्तित वर्षाको सही विश्लेषण गर्न कतिपय अवस्थामा नसकेको उहाँ स्वीकार गर्नुहुन्छ । यो पूर्वानुमान र विभाग दुवैका लागि चुनौती बनेको छ ।

नेपालको पूर्वानुमान थप बलियो बनाउन मौसमविद्को क्षमता अभिवृद्धिसँगै प्रविधिको क्षमता अभिवृद्धि हुनु आवश्यक रहेको जोशीले बताउनुभयो । त्यस्तै गरी नेपालमा हाल ८५० वटा मौसम अनुगमन गर्ने स्टेसन छन् । तीमध्ये आधा जसो अझै पनि मानिसले चलाउनुपर्ने पुरानै मोडलका छन् । उच्च हिमाली भेगमा मौसम अनुगमन स्टेसन राख्न सकिएको छैन । सन् २०३० सम्ममा सबै स्टेसनलाई रियल टाइम डाटाबेसमा रूपान्तरण गर्ने योजना विभागको भए पनि स्रोतसाधनको अभाव चर्को छ । भएको बजेट स्टेसन मर्मतसम्भारमा अधिकतम खर्च हुने गरेको छ ।

तथ्याङ्क आदानप्रदान प्रणालीगत रूपमा सञ्चालन हुन सकेका छैनन् । उहाँले भन्नुभयो, “छिमेकी भारतसँग भएका तथ्याङ्क नेपालमा आदानप्रदान हुँदैनन्, त्यसमा सरकारले सहजीकरण गर्नुपर्ने देखिन्छ ।” यीबाहेक विश्व मौसम सङ्गठनसँको समन्वय र सहकार्य बढाउँदै उच्च प्रविधियुक्त सुपर कम्प्युटर जसले एक दिन लगाएर विश्लेषण गर्ने सूचना केही घण्टामै विश्लेषण गरेर सही पूर्वानुमानलाई सघाउँछ, त्यस्ता प्रविधि विभागसँग भएमा नेपालमा हुने मौसमी विपत्को क्षति न्यून गराएर जनजीवन सहज बनाउन सकिने अनुमान विभागको छ ।

तपाईको प्रतिक्रिया