भिटामिन ‘ए’ कार्यक्रम कात्तिक २० र २१ गते

  ७ घण्टा अगाडि

काठमाडौँ, २० असोज : सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने  कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका  निर्देशक डा. विवेककुमार लालले आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी  खुवाउने कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको  औषधी  खुवाउने कार्यक्रम कात्तिक २ र ३ गते र  वैशाख ६ र ७ गते गरी दुई रणमा सञ्चालन गर्दै आएको छ ।  

निर्धारित समयमा तीहारको लक्ष्मी पूजा परेकोले असोज २० गतेको सचिव स्तरीय बैठकलले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी  खुवाउने  पहिलो चरणको कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । दोस्रो चरणको कार्यक्रम भने निर्धारित समयमानै हुने उहाँको भनाइ छ । 

त्यस्तै, सोही समयमा छ महिनाभन्दा माथिका बालबालिकालाई बाल भिटा पोषणयुक्त आहार दिइँदै छ । तोकिएको समयमा घर नजिकैको खोप केन्द्रमा लगेर बालबाकिलालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन उहाँले आग्रह गर्नुभयो । 

पाँच वर्ष मुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाउने सरकारको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया