बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित

  ३ घण्टा अगाडि

चन्द्रपुर (रौतहट), २० असोज : गत शनिबार र आइतबार आएको अबिरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्याएको छ । सदरमुकाम गौर हालसम्म जलमग्न छ । पूर्वतर्फ रहेको बागमती नदी र पश्चिमतर्फ रहेको लालबकैया नदीको बाढी पसेपछि गौर जलमग्न भएको हो ।

बाढीबाट हालसम्म ४१२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । सबैभन्दा बढी दुर्गाभगवती गाउँपालिकामा २३६ परिवार विस्थापित भएका छन् । उक्त क्षेत्रमा एक हजारभन्दा बढी घरभित्र बाढी पसेको थियो । झाझखोला र बागमती नदीको बीचमा रहेको सो गाउँपालिकाको वडा नं ४ पचरुखी र वडा नं ५ बर्डहवा बढी प्रभावित भएका छन् । बाढीले धान बाली नष्ट गरेको छ ।

गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा बाढीबाट ८९ परिवार विस्थापित भएका प्रहरी उपरीक्षक गिरीले बताउनुभयो । सबैभन्दा बढी वडा नं ८ र ९ प्रभाबित बनेका छन् । बाढीले गौर, राजपुर, गुजरा, कटहरिया, इशनाथ, माधव नारायण, गढीमाई, वृन्दावन, मौलापुर, फतुवा विजयपुर नगरपालिका तथा यमुनामाई गाउँपालिमा बढी क्षति पुगेको छ ।

सडक अवरुद्ध

बाढीले रौतहटभित्रका ठूला सडकसमेत अवरुद्ध भएका छन् । गौर भन्सारदेखि बिपीचोकसम्म सडकमा पानी जमेको छ । बाढीले मौलापुर, सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने मुख्य सडक खण्ड बगाएको छ । भारी वर्षासँगै आएको बाढीले कालोपत्र सडकको ठूलो भाग बगाएपछि सो मार्गमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

सरकारी कार्यालय डुबानमा

बाढीकै कारण गौरमा रहेका सरकारी कार्यालय डुबानमा परेका छन् । बागमती नदी र बकैया नदीको विभिन्न स्थानबाट बाढी पसेपछि उक्त क्षेत्र डुबानमा परेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार मङ्गलबारदेखि कार्यालय खोल्न निर्देशन प्राप्त भएपनि सेवाग्राही आउने अवस्था नरहेको बताउनुभयो । बाढीले जिल्ला प्रशासन, गौर नगरपालिका, मालपोत, नापी, पूर्वाधार, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, गौर भन्सार, जिल्ला निर्वाचन, जिल्ला हुलाक कार्यालयलगायत कार्यालय डुबानमा परेका छन् ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ नं हेड क्वाटर हजमनियाको कार्यालय पनि पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिनुभयो । लक्ष्मीपुर बेलबिछुअवा, गौर, औरैया, सरमजुअवाको बिओपीका कार्यालयसमेत डुबानमा परेका छन् । रौतहटमा नदीमा डुबेर एक जना तथा चट्याङमा परी तीन जनाले ज्यान गुमाएका छन् ।
रासस

तपाईको प्रतिक्रिया