कोजाग्रत : मैथिल वरवधुको आज ‘चुमाउन’ गरिँदै

  २ घण्टा अगाडि

महोत्तरी, २० असोज : मधेसमा महोत्तरीसहितका मिथिला क्षेत्रका आज कोजाग्रत पूर्णिमाका अवसरमा नवविवाहित मैथिल जोडिको ‘चुमाउन’ गरिँदै छ । गत कोजाग्रतयताको एक वर्ष अवधिमा विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि परम्पराअनुसार आज गरिन लागेको हो ।

सामान्यतया आफ्नी कन्याको विवाहपश्चात् राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमाउन’ भन्ने गरिएको छ । यस अवसरमा दुलही पक्षकाले दुलहाका लागि वस्त्रआभूषण र मिष्टान्न परिकार भेट गर्ने (उपहार दिने) पुरानो परम्परा रहेको पाका मैथिल बताउँछन् ।

कोजाग्रत पूर्णिमा दोषरहित र शुभ दिन मानिँदै आइएकाले पहिलो पटक घरजम सुरु गरेकी छोरी÷चेलीका परिवारजनप्रति आभार व्यक्त गर्न यो दिन रोजिएको हुनसक्ने मैथिल लोकपरम्पराका जानकार बताउँछन् । दुर्गा पूजन सकिएलगत्तै दसैँ पर्वको कोसेली पु¥याउन र पर्वविशेषको भेटघाट गर्न पनि यो परम्परा पूर्वजहरूले चलाएका हुनसक्ने मैथिल संस्कृतिविद् जलेश्वर– ५ का ध्रुव राय बताउनुहुन्छ ।

मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण, कायस्थ र सोनार जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमाउन’ विधि पछिल्ला केही वर्षयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ । दुलही पक्षकाले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभूषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउन पर्ने दुलहा पक्षको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको टिप्पणी बढेको हो ।

विगतमा एक बिडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको यो परम्परा पछिल्ला केही दशकयता दुलही पक्षका लागि खर्चिलो बन्दै गएको मैथिलहरू नै स्वीकार गर्छन् । संस्कृति थेग्न र बचाउनभन्दा पनि आडम्बर बढेको भङ्गाहा–५ सिद्धपुरका रामनारायण झाको भनाइ छ ।

पिता, पुर्खाले आपसी सद्भाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शनजस्तै बनेकाले अबको पुस्ताले यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् ।
रासस

तपाईको प्रतिक्रिया