‘अहिलेसम्म टिकोटमा रासायनिक मल भित्रिएको छैन’

  १२ घण्टा अगाडि

म्याग्दी, २० असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक रु. सात लाखसम्म आम्दानी गर्नुहुन्छ । पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफुल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बन्नुभएको हो । १६ वर्षअघि तरकारी खेती गर्नुअघि पुनले रोजगारीका लागि पाँच वर्ष कतारमा श्रम र पसिना बगाउनुभएको थियो ।

“कृषिमा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने मेरो अनुभव छ,” उहाँले भन्नुभयो “ताजा तरकारी विक्री गरेर वार्षिक रुपमा रु. पाँच देखि सात लाख सम्म आम्दानी हुन्छ ।” साँझ बिहान तरकारी र किबीको फार्मको स्याहार सुसारमा व्यस्त वडा सदस्य समेत रहेका पुनले दिउँसोको समय सामाजिक काममा दिनुुहुुन्छ ।

टिकोटको छिमेकी वस्ति घराम्दीका बासिन्दा रहेका अन्नपूर्ण गाउँपालिका–७ का पुर्व वडा अध्यक्ष गमप्रसाद फगामी पनि कार्यकाल सकिएपछि ब्यवसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ । फगामीले पाँच रोपनी जग्गामा काँक्रो, बोडी, सिमी, गोलभेडा, बन्दा, काउली र साग खेती गर्नुभएको छ ।

गोलभेडा खेतीका लागि उहाँले तीन वटा पलास्टिक टनेल बनाउनुभएको छ । फगामीका छिमेकी बाहालवाला वडा सदस्य गेमबहादुर पुनले ताजा र बेमौसमी तरकारीका साथै व्यवसायिक रुपमा आलु खेती गर्दै आउनुभएको छ । घराम्दी र टिकोटका कृषकले उत्पादन भएको तरकारी र आलु सदरमुकाम बेनी र प्रदेशको राजधानी पोखरामा बिक्री हुने गरेको छ ।

यहाँ ५० जना भन्दा बढी व्यवसायिक किसान छन् । गाडीले तरकारी बोकेर बजार लैजाने गरेको छ । यहाँबाट वार्षिक रु. दुई करोड भन्दा बढी मूल्यको आलु र रु. एक करोड बराबरको बन्दा बिक्री हुने गरेको वडा सदस्य वुद्धिविर पुनले बताउनुभयो । टिकोट र घराम्दी समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटर उचाईमा रहेको छ ।

चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाईमा परेको छ । अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्याम शरण कुर्मीले बताउनुभयो । कार्यक्रम मार्फत कृषकहरुलाई तरकारी खेतीका लागि आवश्यक विउ, टनेल, सिचाई सामग्री उपलब्ध गराएको उहाँले बताउनुभयो ।

खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकुल मानिएको रासायनिक विषादी र मलको विकल्पमा जैविक बिधीबाट तरकारी खेती गरेका छन् । टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभैसीको मलमुत्र प्रयोग गरेको बताउनुभयो । “पलास्टिकको वोत्तलमा संकलन गरेर राखेको गाईभैसीको मुत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौ,” उहाँले भन्नुभयो “ टिकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन् ।” यहाँका किसानको प्रत्येक गोठमा गाईभैसीको मुत्र संकलन गरेर राखेका छन् ।

रासस

तपाईको प्रतिक्रिया