दक्षिणी चीनमा म्याटमो आँधीको प्रहार, लाखौँ नागरिकलाई सुरक्षित स्थानमा सारियो

  १८ घण्टा अगाडि

बेइजिङ, १९ असोज : शक्तिशाली टाइफुन म्याटमोले आइतबार चीनको दक्षिणी तटमा प्रहार गरेपछि लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सरकारी मिडियाका अनुसार यस आँधीले तटीय प्रदेशहरूमा व्यापक असर पारेको छ ।

राज्य प्रसारणकर्ता सिसिटिभीका अनुसार आँधीले गुआङ्गडोङ प्रान्तमा दिउँसो २ः५० बजे (०६५० जिएमटी) अवतरण गरेको थियो । राष्ट्रिय मौसम विज्ञान केन्द्रले हावाको गति प्रतिघण्टा १५० किलोमिटर (९३ माइल) भन्दा बढी रेकर्ड गरेको जनाएको छ ।

आँधी नजिकिँदै जाँदा अधिकारीहरूले हाइनान टापुका करिब एक लाख ७० हजार र गुआङ्गडोङ प्रान्तका एक लाख ५० हजारभन्दा बढी नागरिकलाई घरबाट बाहिर निकालेर सुरक्षित स्थानमा सारिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

हाइको, वेन्चाङ, झान्जियाङ र माओमिङजस्ता तटीय सहरहरूमा सार्वजनिक यातायात, निर्माण कार्य र व्यवसायहरू बन्द गरिएका छन् । त्यस्तै, गुआङ्सी क्षेत्रको दक्षिणमा पर्ने बेइहाई सहरले पनि आइतबार काम, विद्यालय र यातायात सेवा स्थगित गरेको छ ।

सिसिटिभीका अनुसार आँधीका कारण माओमिङको बन्दरगाहमा समुद्रको सतह बढेको र बाढीको ‘गम्भीर जोखिम’ उत्पन्न भएको छ । मौसम विभागले अवतरणपछि आँधीको तीव्रता बिस्तारै घट्ने अनुमान गरे पनि सोमबारसम्म हाइनान, गुआङ्गडोङ र गुआङ्सीका केही भागमा तीव्र वर्षा र बलियो हावाको चेतावनी जारी गरिएको छ ।

जलवायु विज्ञहरूका अनुसार चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक मुलुक भएकाले जलवायु परिवर्तनका कारण त्यहाँ चरम मौसमका घटना तीव्र र बारम्बार हुन थालेका छन् । तर चीन अहिले नवीकरणीय ऊर्जामा विश्वको अग्रणी देश बनेको छ र सन् २०६० सम्ममा कार्बन तटस्थता हासिल गर्ने लक्ष्य राखेको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया