हमास बन्धक र बन्दी आदानप्रदानलाई शीघ्रता दिन आतुर

  १५ घण्टा अगाडि

कायरो, १९ असोज : हमासले आइतबार इजरायलसँग बन्धक–बन्दी आदानप्रदानको द्रूत सुरुवात गर्न आफू तयार रहेको र इजरायलले पनि यसलाई ढिलो नगरी शान्ति प्रक्रियालाई अघि बढाओस भन्ने चाहेको बताएको छ ।

गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुई युद्धरत पक्षका वार्ताकारहरू इजिप्टमा भेट्न लागेका बेला हमासको यो भनाइ सार्वजनिक भएको हो ।

वार्ता व्यापक र दिगो युद्धविराम प्राप्त गर्ने ‘वास्तविक अवसर’ भएको इजिप्टसहित कैयौँ देशका विदेशमन्त्रीहरूले बताएका छन् ।

हमासका एक वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भन्नुभयो, “हमास युद्ध अन्त्य गर्न सहमतिमा पुग्न र स्थलगत अवस्था अनुसार तुरुन्त कैदी आदानप्रदानको प्रक्रिया सुरु गर्न आतुर छ ।”

इजरायली जेलमा रहेका प्यालेस्टिनीहरूको बदलामा गाजामा बन्दीहरूको रिहाइको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मार्गचित्रमा प्यालेस्टिनी लडाकू समूह (हमास)ले सकारात्मक प्रतिक्रिया दिएको छ ।

वार्ताकारहरूले रिसोर्टहरूका लागि प्रसिद्ध इजिप्टको शहर शर्म अल–शेखमा वार्ता गर्ने कार्यक्रम रहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा बन्धकहरूलाई केही दिनभित्रै रिहा गर्न सकिने आशा व्यक्त गर्नुभएको छ ।

नेतन्याहूले शनिबार वार्ताकारहरूलाई वार्ताका लागि ‘प्राविधिक विवरणलाई अन्तिम रूप दिन’ इजिप्ट जान निर्देशन दिएको बताउनुभएको छ भने कायरोले ‘सबै इजरायली बन्दी र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानको जमिनी अवस्था र विवरण’ बारे वार्ताका लागि हमासको एक प्रतिनिधिमण्डललाई पनि आतिथ्य गर्ने पुष्टि गर्नुभयो ।

इजरायली सरकारका प्रवक्ताले भन्नुभयो, “इजरायली प्रतिनिधिमण्डल आइतबार साँझ इजिप्टका लागि प्रस्थान गर्नेछ, सोमबार वार्ता सुरु हुनेछ ।”

सोमबार नै हमास आक्रमणको दोस्रो वर्ष पूरा हुनेछ । हमासलगायत प्यालेष्टिनी लडाकू समूहहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेर एक हजार २०० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए भने २५१ जनालाई बन्धक बनाई गाजातर्फ mलगेका थिए । बदलामा इजरायलले हमासविरूद्धको आक्रमणको घोषणा गरेको थियो । इजरायली आक्रमणमा ६२ हजारभन्दा बढी प्यालेष्टिनीको मृत्यु भइसकेको छ ।

ह्वाइट हाउसका अनुसार वार्ताका लागि ट्रम्पले आफ्ना ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका वार्ताकार स्टिभ विटकोफ गरी दुई जना दूत इजिप्ट पठाउनुभएको छ ।

“मध्यस्थकर्ताहरूसँगको कुराकानीको क्रममा हमासले इजरायलले गाजा पट्टीका सबै क्षेत्रहरूमा सैन्य कारबाही रोक्न, सबै हवाई, जासुसी र ड्रोन गतिविधि रोक्न र गाजा शहर भित्रबाट फिर्ता हुन आवश्यक रहेको बताएको छ,” हमास निकट एक प्यालेस्टिनी स्रोतले भन्यो ।

बन्धकमध्ये ४७ जना अझै जीवित वा मृत अवस्थामा गाजामा रहेका छन् भने तीमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

ट्रम्पको योजना अनुसार बन्धकहरूको रिहाइको बदलामा इजरायलले आजीवन कारावाससहितको सजाय पाएका २५० प्यालेस्टिनी कैदी र युद्ध सुरु भएपछि गाजा पट्टीबाट पक्राउ परेका एक हजार ७०० भन्दा बढी बन्दीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले हमासबाट हुने ढिलासुस्ती नसहने चेतावनी दिँदै उक्त समूहलाई सम्झौताका लागि छिटो अघि बढ्न आग्रह गर्नुभएको छ ।

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशल नेटवर्कमा इजरायलले गाजामा फिर्तीको प्रारम्भिक लाइनमा सहमति जनाएको र यो कुरा हमाससँग साझा गरिएको बताउनुभएको छ ।

“हमासले यस कुराको पुष्टि गरेपछि युद्धविराम तुरुन्त प्रभावकारी हुनेछ । बन्धक र कैदीको आदानप्रदान सुरु हुनेछ र त्यसपछि हामी इजरायली सेनाको फिर्ताको अर्को चरणको लागि अवस्था सिर्जना गर्नेछौँ,” अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्तावित लाइनको विवरणसहित गरेको सन्देशमा उल्लेख छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया