काठमाडौँ, १९ असोज : यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ । आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले आज मात्रै ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताउनुभयो । सबैभन्दा बढी आज इलाममा ३७ जनाको पहिरोमा परेर ज्यान गएको रे पछिल्लो प्रणालीबाट ५० जिल्ला प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।
प्राधिकरणका अनुसार वैशाखयता सबैभन्दा बढी सर्पदंशबाट मात्रै ८६ जनाको मृत्यु भएको छ । त्यसपछि पहिरोमा परेर ४६ तथा चट्याङबाट ४५ जनाको मृत्यु भएको हो ।
प्राधिकरणले आज सार्वजनिक गरेको विपद्जन्य घटनाको अभिलेखमा बाढीका कारण ३०, भारी वर्षाबाट छ, आगलागीबाट २३, हावाहुरीका कारण आठ, जनावरको आक्रमणबाट २२ र लेक लागेर १९ जनाको मृत्यु भएको उल्लेख छ ।
यस्तै, बाढीबाट २३ जना, पहिरोका कारण तीन र जनावरको आक्रमणबाट एकजना बेपत्ता भएका छन् । हालसम्म चार हजार ६५ वटा विपद्जन्य घटना भएको र ती घटनामा परेर एक हजार ७२ जना घाइते भएको पनि प्रवक्ता महतले बताउनुभयो । कुल सात हजार २११ प्रिवार ती विपद्बाट प्रभावित भएको उहाँले जानकारी दिनुभएको राससमा उल्लेख छ ।