यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

  ५ घण्टा अगाडि

काठमाडौँ, १५ असोज : दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् ।

दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले दुई दिनमा रु एक करोड पाँच लाख ६५ हजार व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ ।

उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’बाट रु ५७ लाख १९ हजार ३४० र दोस्रो दिन दुई सय १३ शोबाट रु ४८ लाख ४६ हजारको व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको दुई दिनमा रु ५९ लाख ५८ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ ।

उक्त चलचित्रले असोज १३ गते १३४ शोबाट रु २४ लाख ८५ हजार ६४ र दोस्रो दिन रु ३४ लाख ७३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले पहिलो दिन र दोस्रो दिन समान ‘शो’ पाएको छ । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याउनुभएको हो ।

प्रदर्शनरत तेस्रो चलचित्र ‘माइतीघर’ ले प्रदर्शनको दुई दिनमा रु ३८ लाख ६३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले असोज १३ गते पहिलो दिन १४४ ‘शो’बाट रु १८ लाख ९६ हजार ४५५ र दोस्रो दिन १३० ‘शो’बाट रु १९ लाख ६७ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ ।

रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएको छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया