वासिङ्टन, १४ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार वासिङ्टन नजिकैको क्वान्टिकोमा बोलाइएका सयौँ वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूको दुर्लभ बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । यस असामान्य भेलाको कुनै औपचारिक कारण सार्वजनिक गरिएको छैन ।
अमेरिकी सेनाले हाल देशभित्र र विदेशमा विवादहरूको सामना गरिरहेको छ । राष्ट्रपति ट्रम्पले दुई डेमोक्रेटिक सहरमा सेना तैनाथ गर्नुभएको छ र क्यारिबियनमा साना, कथित लागूऔषध बोक्ने डुङ्गाहरूमा घातक आक्रमणको आदेश दिनुभएको थियो । पदभार सम्हालेपछि उहाँले इरानी आणविक केन्द्रहरू र तेहरान समर्थित यमनी विद्रोहीहरूमा पनि आक्रमण गर्न आदेश दिनुभएको छ ।
ह्वाइट हाउसले ७९ वर्षीय रिपब्लिकन राष्ट्रपतिको कार्यक्रमलाई ‘युद्ध विभागलाई टिप्पणी’ शीर्षकमा बिहान ९ बजे (१३०० जिएमटी) तालिकाबद्ध गरेको छ । गत हप्ताको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यो बैठकलाई ‘उत्कृष्ट अवसर’ भन्दै जनरल तथा एडमिरलहरूसँग प्रत्यक्ष संवाद गर्न पेन्टागन प्रमुख पिट हेग्सेथको प्रशंसा गर्नुभएको थियो ।
उपराष्ट्रपति जे.डी. भान्सले यसलाई ‘असामान्य होइन’ भन्दै स्पष्टिकरण दिनुभयो भने, पेन्टागनका प्रवक्ता सीन पार्नेलले केवल हेग्सेथले आफ्ना वरिष्ठ सैन्य नेताहरूलाई सम्बोधन गर्ने जानकारी मात्र दिनुभयो ।
पेन्टागनमा शेकअप
यो बैठकमा एक–तारा वा माथिका पदाधिकारीहरूलाई एकैसाथ भेला गरिनेछ, जसका कारण ठूला निर्णय वा घोषणाबारे अड्कलबाजी बढेको छ ।
मे महिनामा हेग्सेथले अमेरिकी सेनामा जनरल र फ्ल्याग अफिसरहरूको सङ्ख्यामा कम्तीमा २० प्रतिशत कटौतीको आदेश दिनुभएको थियो । यसअघि फेब्रुअरीमा पेन्टागनले नागरिक कर्मचारीमा पनि कम्तीमा पाँच प्रतिशत कटौती गर्ने लक्ष्य सार्वजनिक गरेको थियो ।
राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि नै ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल चाल्र्स ‘सीक्यु’ ब्राउनलगायत धेरै उच्च अधिकारीहरूलाई बर्खास्त गर्नुभएको छ । यस वर्ष मात्र नौसेना, तटरक्षक, राष्ट्रिय सुरक्षा एजेन्सी, डिफेन्स इन्टेलिजेन्स एजेन्सीका प्रमुखहरू, वायु सेनाका उप प्रमुख, नाटोमा नियुक्त एडमिरल तथा तीन वरिष्ठ सैन्य वकिलहरू बर्खास्त गरिएको छ ।
यसैबेला अमेरिकी सेनाले यस वर्षको सुरुआतमा इरान समर्थित यमनका हुथी विद्रोहीहरूलाई दुई महिनासम्म आक्रमण गरेको थियो र तेहरानका तीनवटा प्रमुख आणविक केन्द्रहरूमा समेत आक्रमण गरेको थियो ।
अमेरिकाभित्र लस एन्जलस र वासिङ्टन डिसीमा सेना तैनाथ गरिएको छ, जसलाई ‘नागरिक अशान्ति र अपराध नियन्त्रण’ को नाम दिइएको छ । यस्तै कदम पोर्टल्यान्ड र मेम्फिसअन्य सहरमा पनि योजना गरिएको छ । (रासस/एएफपी)