धरान (सुनसरी), १३ असोज : धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८२ विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति र राष्ट्रिय कविता महोत्सवका लागि उत्कृष्ट १० कविता छनोट गरेको छ ।
कवि विमल गुरुङ्को ५४औँ जन्मजयन्ती तथा ३४औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा पुस्तकालयमा प्राप्त एक सय चार कृतिमध्येबाट छानिएका १० उत्कृष्ट कृतिमध्ये एकलाई आगामी कात्तिक १९ गते कवि विमल गुरुङको जन्मजयन्तीका अवसरमा ताम्रपत्रसहित रु दुई लाख नगदसहित सम्मान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।
कविता महोत्सवमा उत्कृष्ट तीन कवितालाई क्रमश प्रथम, द्वितीय र तृतीय स्थानका लागि प्रमाणपत्र, पदक (स्वर्ण, रजत, कास्य) र नगद रु २१ हजार, रु १९ हजार र रु १८ हजारसहित राष्ट्रिय कविता महोत्सव २०८२ को अवसरमा प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले विमल गुरुङ कृति पुरस्कारका लागि प्राप्त भएका एक सय चार कृतिमध्ये छनोटमा परेका कृतिहरूमा ‘डायस्पोराः अवधारणा र अभ्यास’ (रक्ष राई), ‘रातो नदी’ (जुनु राना), ‘डोलीभर्ना’ (डा चित्र माबो), ‘सिमसारा’ (बसन्त बस्नेत), ‘काँचको पोखरी’ (टीका भाइ), ‘नाति पुस्ताको खेल’ (कृष्ण बराल), ‘मोहोर’ (सागर गैरे), ‘जब कविता निस्कन्छ जुलुसमा’ (सुरज राना), ‘कोइलाखाद’ (श्याम सिंघक) र ‘गण्डकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाको अध्ययन’ (तेज बहादुर गुरुङ) रहेको जानकारी दिनुभयो ।
३४औँ राष्ट्रिय कविता महोत्सवका लागि देश तथा विदेशबाट प्राप्त ९० कवितामध्येबाट उत्कृष्ट १० कविता छनोट गरिएको छ । विसं २०४८ को वैशाख २४ गते धादिङको जुकेपानीमा भएको सवारी दुर्घटनामा निधन हुनुभएका कवि विमल गुरुङको स्मृतिमा स्थापित धरान उपमहानगरपालिका–१८ स्थित पुस्तकालयले विगत तीन दशकदेखि साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
पत्रकारितासँगै कविता लेखनमा सक्रिय गुरुङको ‘एक किलो जङ्गल’, ‘आत्मघोषणा’ र ‘सहरको प्रगाढ मौनता’ नामक तीन कविता सङ्ग्रह प्रकाशित छन् । उहाँको निधनपछि उहाँका पिता पूर्व ब्रिटिस गोर्खा सैनिक पूर्णबहादुर गुरुङले धरानस्थित बुद्धचोकमा पुस्तकालय स्थापना गर्नुभएको थियो ।
रासस