महोत्तरी, १३ असोज : यहाँको बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो विद्यालयलाई डिजिटल विद्यालय घोषणा गरेको छ । आइतबार एक समारोहबीच नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले छात्रछात्राको नवीनतम् प्रविधिमा पहुँच बढाउन यो घोषणा उपलब्धिपूर्ण हुने बताउनुभयो ।
“मधेसमा सामुदायिक विद्यालय भनेपछि के पढाइ हुन्छ र ? भन्ने भाष्य बनेको छ,” नगरप्रमुख क्षत्रीले भन्नुभयो, “यो घोषणाले मधेसभरिकै लागि एक नयाँ सन्देश प्रवाह हुनेछ ।” उहाँले विद्यालयका सबै कक्षाकोठामा जडित डिजिटल बोर्डको उद्घाटन समेत गर्नुभयो ।
विद्यालयमा बाल कक्षादेखि १२ सम्म एक हजार २०० विद्यार्थी छन् । यसका अतिरिक्त सिभिल इञ्जिनियरिङ, सर्वे (नापी) इञ्जिनियरिङ र वनविज्ञानसहित तीन विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सम्बन्धनमा डिप्लोमा तहमा पठनपाठन गर्ने २०० छन् । ती सबै कक्षाको पठनपाठन डिजिटल प्रणालीबाट हुने विद्यालयका प्रधानाध्यापक कुमार घिमिरेले जानकारी दिनुभयो ।
“सबै विषयको पठनपाठन अब शिक्षकले डिजिटल प्रविधिबाटै गर्नुहुनेछ,” घिमिरेले भन्नुभयो, “यसका लागि हाम्रा सबै शिक्षक पोख्त हुनुहुन्छ ।” यो प्रविधिको पठनपाठनबाट अघि छुटेको कक्षा विद्यार्थीले पछि हेर्न बुझ्न सक्ने घिमिरेको भनाइ छ ।
विद्यालयमा हाल स्थायी दरबन्दी, अस्थायी, राहत, बालविकास र नगर शिक्षकसमेत २६ जनाको जनशक्ति छ । माध्यमिक तहमा विद्यार्थीको चाप बढे पनि यस तहका शिक्षक भने दुई जना मात्र रहेका प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।
रासस