विचार : यसरी गर्न सकिन्छ दसैँमा यातायात व्यवस्थापन

  ४ घण्टा अगाडि

काठमाडौँ, १२ असोज : दसैँ मनाउन काठमाडौँ छाडेर घर जानेहरुको सङ्ख्या अत्यधिक छ । विद्यालय र सरकारी कार्यालय बिदा भइसकेपछि यो सङ्ख्यामा झन् वृद्धि हुनेछ । घटस्थापनादेखि हालसम्म करिब दुई लाखले काठमाडौँ छाडिसकेका छन् दशमीको दिन असोज १६ गतेसम्म घर फर्किनेहरुको सङ्ख्या करिब २५ लाखको हाराहारी हुनेछ । भञ्ज्याङै भञ्ज्याङहरुले घेरिएको काठमाडौँ उपत्यका बाहिरिने करिब दुई दर्जन सडकका नाकामध्ये कलङ्की–नागढुङ्गा नाका, कोटेश्वर–साँगा नाका, बल्खु–दक्षिणकाली नाका, साँखु नाका, टोखा नाका, बालाजु–ककनी नाका, भीमढुङ्गा नाका, सातदोबाटो–चापागाउँ नाका र अन्य छोटो रुटका नाकाहरु हुन् । करिब ३० लाख जनसङ्ख्या रहेको उपत्यकामा बाहिरबाट आएर विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका लागि बसोेबास गर्नेसमेत जोड्दा ६० लाखभन्दा बढिरहेको तथ्यले देखाएको छ ।

घर फर्किने आमसर्वसाधारणका लागि पूर्वतर्फ कोशी प्रदेश, बागमती प्रदेशका पहाडी जिल्लाहरु र मधेस प्रदेशका पूर्वीतर्फका केही जिल्लाहरु जोड्ने बिपी राजमार्ग, अरनिको राजमार्ग हुँदै बाहिरिने सवारीसाधन दिवा सेवाहरु करिब दुई हजार ५०० साना मझौला सवारीसाधन छन्, अरनिको राजमार्गमा मात्रै एक हजार ५०० सवारीसाधन छन् त्यस्तै पूर्व चल्ने रात्रि सेवामा करिब चार सय ५० ठूला बसहरु सञ्चालनमा छन् ।

दक्षिणतर्फ त्रिभूवन राजपथ, कान्ति लोकमार्ग र फाखेल दक्षिणकाली हुँदै उपत्यका बाहिरिने साना प्रकृतिका सवारीसाधन करिब एक हजार ५०० साना मझौला सवारीसाधनहरु रहेका छन् । यसले हेटौँडा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीसम्मका जनतालाई सेवा प्रवाह गर्दछ । पश्चिमतर्फ पृथ्वी राजमार्ग भएर पोखरा चल्ने करिब ४०० र मुग्लिङ–नारायणगढ हुँदै महेन्द्रनगरसम्मका रात्रि सेवा ७०० र अन्य साना सवारीसाधन करिब २०० को हाराहारीमा रहेका छन् भने पासाङल्हामु सडकमा सञ्चालित करिब २०० को हाराहारीमा सञ्चालित छन् ।

यो तथ्यसँगै सार्वजनिक सवारीसाधन र सानाठूला निजी सवारीसाधनहरुको कुरा गर्ने हो भने प्रत्येक दिन काठमाडौँबाट करिब सात हजार ५०० सवारीसाधन बाहिरिने देखिन्छ । तर, यति सवारीसाधनले मात्रै दसैँको टीकाको दिनसम्म सबै यात्रुहरुलाई घर पठाउन पर्याप्त हुँदैन । अन्य सवारीसाधन थप गर्नुपर्ने हुन्छ । त्यसैको तयारीस्वरुप सरकारले घटस्थापनादेखि देशभरि सवारीसाधन सञ्चालनका लागि रुट पर्मिट (बाटो इजाजतपत्र) खुला गरेको छ । यद्यपि त्यसरी लामो रुटमा गुड्ने सवारीसाधनको यान्त्रिक अवस्था बारे मापदण्ड नतोकिँदा यात्रुको सुरक्षाको प्रश्न गम्भीर हुनसक्नेतर्फ सरोकारवाला सजग हुनुपर्ने अवस्था छ ।

तुइनखोला पहिरोले खाएको एक सय पाँच घण्टा

यही असोज ३ गते साँझ ६ः३० बजेदेखि असोज ९ गते राति १०ः३५ मिनेटसम्मको १६८ घण्टाको समय अवधिमा १०५ घण्टा पूर्णतया सवारीसाधन आवागमन बन्द रह्यो । मुख्य नाकामध्येको पृथ्वी राजमार्ग भएर बाहिरिने सडकको मुग्लिङ–नारायणगढ सडकअन्तर्गत तुइनखोला पुल छेउमा असोज ३ गते साँझ ६ः३० बजेदेखि पहिरो खसेर आवागमन पूर्ण रुपमा अवरुद्ध भयो । ४५ घण्टापछि असोज ५ गते अपराह्न ४ः०० बजे खुल्यो तर पुनःअसोज ७ गते अपराह्न ४ः३० बजे सोही स्थानमा पहिरो खसेर यातायात बन्द भयो । लोमो मेहनतपछि असोज ९ गते राति १०ः३० बजे पहिरो पन्छाएपछि आवागत पुनःसञ्चालन भएको छ ।

मुख्य सडक नै जोखिममा, सुरक्षित छैनन् वैकल्पिक मार्गहरु

उपत्यकाबाट बाहिरिने मुख्य नाका नागढुङ्गा मुग्लिङ–नारायणगढ सडकअन्तर्गत तुइनखोला पुल छेउको पहिरोको जोखिम अन्त्य भएको छैन । एक हप्ताबीचमा दुईपटक खसिसकेको पहिरो फेरि कतिबेला खस्छ भन्ने अनुमान गर्न सहज छैन । यो सडकको यात्रा ढुक्कको हुन सकेको छैन । त्यस्तै पूर्वतर्फको लाइफलाइनका रुपमा रहेको सडक खुर्कोट–सिन्धुली सडकसमेत गत वर्षको वर्षाका कारण ध्वस्त छ । काभ्रेको रोशीदेखि नेपालथोकसम्मको सबै सडक जीर्ण बनेको छ । अहिले सवारीसाधन गुडिरहेकै छन् तर अस्थायी रुपमा मर्मत गरिएको खोलाको किनार र अप्ठ्यारो भिरको बाटोबाट जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ । अघिल्लो वर्षको जस्तै वर्षा हुने हो भने अहिलेको अस्थायी बाटोमाथि गाडी होइन पानी कुद्ने अवस्था छ ।

यस विषयमा ध्यान दिन जरुरी छ । तुइनखोला पुलको पहिरोले सडक अवरुद्ध बनेकाबेला सरकारले वैकल्पिक मार्ग भनेर निम्न सडकबाट यात्रा गर्न जनतालाई सुझाएको थियो । यसमा बुटवल–पोखरा–मुग्लिङ हुँदै आउनुपर्ने सडक रहेको थियो । जुन सडक प्रयोग गर्दा पहाडको साँघुरोबाटो र दूरीका हिसाबले २४७ किलोमिटर लामो रहेको छ । त्यस्तै नवलपुरको गैँडाकोटबाट रामपुर पोखरा र मुग्लिङसम्म २६२ किलोमिटर पार गर्दै काठमाडाँैतर्फ जानुपर्ने सडक त्यस्तै हेटौँडाबाट त्रिभुवन राजपथ भएर नौबिसे हुँदै काठमाडौँ जाने १३२ किलोमिटरको साना तथा मझौला सवारीहरु मात्रै गुड्न सक्ने सडक र पहाडी सडक, हेटाँैडाबाट भट्टेडाँडा हुँदै ललितपुरको चापागाउँ दोबाटो निस्कने ९५ किलोमिटर दूरीको साना र मझौला सवारी साधन मात्रै यात्रा गर्न सकिने कान्तिराजपथ राजमार्ग र हेटौँडाबाट फाखेल हुँदै बल्खु जोडिने ८२ किलिोमिटर दूरीको साना सवारीसाधन मात्रै गुड्न मिल्ने सडक रहेका छन् ।

सरकारले यी सडकहरुलाई वैकल्पिक सडक भने पनि सबै सडकहरु विकल्प होइनन् । यी सडकले चाडबाड र विपद्का बेला यात्रुहरुको चाप र सवारी साधनको चापलाई थेग्नसक्ने अवस्था छैन । अधिकांश सडकहरु कृषि सडकहरु हुन् जो उचित मर्मतसम्भारको अभावमा आफैँ जीर्ण बनेका छन् ।

नागरिकका दसैँ प्रभावित मजदूरहरुको चुलो प्रभावित

तुइनखोला पहिरोको साताव्यापी बन्दले त्यस रुट भएर चल्ने ३५ हजार सार्वजनिक सवारी साधनमा यात्रा गर्ने साढे पाँच लाख यात्रुलाई प्रत्येक्ष र सवारीसाधन फसेका कारण सेवा नपाउने अन्य लाखौँ यात्रुहरुलाई प्रभावित बनायो । करिब ८५ हजार चालक, सहचालक र परिचालकको चुलोमा प्रत्यक्ष असर पा¥यो । यातायात श्रमिकहरुको दसैँ खल्लो बनायो । दसैँकै बेलामा कमाएर बैँकको किस्ता तिर्छु भन्ने योजनाले सवारीसाधनको कमाइ हेरेर बसेका व्यवसायी र स्वरोजगारहरुलाई निरास पार्यो ।

त्यस रुटमा काम गर्ने श्रमिकहरु मात्रै होइन देशैभरिका साढे ११ लाख यातायात श्रमिकहरु प्रभावित बनेका छन् । देशभरिका करिव चार लाख यातायात व्यवसायी मारमा परेका छन् । मनसुनी प्रभावका कारण बाढी, पहिरो र सडकको अवस्थाले मात्रै होइन, भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमले समेत उसैगरी चौतर्फि असर पारेकोछ । सरकार तथा यातायात व्यवसायीहरुको संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सकेसम्म यात्रामा ननिस्कनु भन्ने सन्देश प्रवाह गरिसकेकाले घर जाने वा यात्रा गर्ने योजनामा परिवर्तन गरिसकेकाले त्यसको असर सर्वत्र देखिने अवस्था छ ।

सरकारले तत्काल र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ । तत्काल उपत्यकाबाट बाहिरिने मुख्य सडकहरुका सम्भावित जोखिमहरुको पहिचान गर्नुपर्छ । आइपर्ने विपद्का बेला तत्काल एक्सन गर्ने गरी संयन्त्र निर्माण गर्नुपर्छ । त्यस्ता संयन्त्रहरुलाई चौबिसै घण्टा सजग राख्नु पर्छ । मुख्य सडक र वैकल्पिक सडकहरुको अप्ठ्यारा र जोखिमयुक्त सडकहरुमा सडक मर्मतका उपकरणहरु (लोडर, एस्काभेटरलगायत) परिचालन गरिरहनुपर्दछ । एकतर्फी सडक, साँघुरा सडक, चोक, मोड र पहिरो गएका स्थानहरुमा ट्राफिक प्रहरीहरुलाई तैनाथ गराउनुपर्छ । सडकको अवस्थाबारे जानकारीका लागि सूचना प्रणालीको प्रभावकारी प्रवाह गर्नुपर्छ ।

दीर्घकालीन र नियमित कामहरुमा तराई जोड्ने फास्ट ट्र्याकको कामलाई तीव्रता दिँदै चाँडै सम्पन्न गर्नुपर्छ । सरकारले वैकल्पिक भनेका सडकहरु जस्तै फाखेल हुँदै हेटौँडा जोड्ने सडक, चापागाउँ हुँदै भट्टेडाँडा भएर हेटौँडा जोड्ने कान्तिराजपथ, नौबिसे हुँदै हेटौँडा जोड्ने त्रिभुवन राजपथलगायतलाई बिस्तार गर्नुपर्छ । कुलेखानी भीमफेदी सुरुङमार्ग निर्माण गर्नुपर्छ । अघिल्लो वर्ष बाढीले बगाएको बिपी राजमार्गलाई तत्काल निर्माण गर्नुपर्छ । खुर्कोट सिन्धुली सुरुङ मार्ग निर्माण गर्नुपर्छ । नेपाललाई दक्षिण एसियाली मुलुक म्यान्मा, बङ्गलादेश, भारत, पाकिस्तान हुँदै इरानसम्म जोड्ने ‘एसियन हाइवे’अन्तर्गत मेची महाकालीसम्मका सडकलाई चाँडो निर्माण सम्पन्न गर्नुपर्छ । मुख्य सहरहरुमा फ्लाइओभर, ओभरपासलगायत सडकलाई चौडा बनाउनुपर्छ ।

यातायात मजदुर र व्यवसायीले पनि सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउने, सुरक्षित बनाउने, भरपर्दो बनाउने, विश्वसनिय बनाउने र मर्यादित बनाउन चालक, सहचालक, परिचालक, बुकिङ र व्यवसायीले विभिन्न काम गर्न सक्दछन् । जनता सचेत भइसकेका छन्, उहाँहरु हाम्रै सवारीसाधनमा यात्रा गर्ने हुन् तानातान गर्नु सोधीखोजी गर्नु पर्दैन । यस्तो काम हैरानी मात्रै होइन यात्रुहरु माथिको अपराध हो । राज्यद्वारा निर्धारण गरिएकोभन्दा बढी भाडा नलिने, टिकट काट्ने बेलामा भनेकोभन्दा फरक सिटमा राख्ने, सिटको पैसा लिएर टुलमा राखेर यात्रा नगराउने ।

यस्ता कार्यहरु कानुनी रुपमा दण्डनीय छन् । भाडा तिरेपछि टिकट पाउने यात्रुको अधिकार हो ख्याल गर्ने र यात्रा गर्ने सबै यात्रुको विवरण राख्ने गर्नुपर्छ ।

सडकको अवस्थालाई ध्यान दिने, प्रतिष्पर्धा नगर्ने सुरक्षित यात्रा गर्ने गराउनुपर्छ । प्रस्थान बिन्दुबाट गन्तव्यसम्मको सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गर्ने र बाटोमा खाजा खाना तथा आरामका लागि सुरक्षित स्थानको पहिचान गरेर मात्रै सवारी रोक्नेछौँ । यात्रा तय गर्नुअघि सवारी साधनको यान्त्रिक अवस्था चेकजाँच गर्ने, क्षमताभन्दा बढी यात्रु नचढाउने र यात्रामा मादकपदार्थ, लागुपदार्थको सेवन नगर्ने, अरुलाई पनि गर्न दिनुहुँदैन । सवारीसाधन सञ्चालन गर्न रोकेको सडकमा जोखिम मोलेर जवरजस्ती सवारीसाधन नचलाउने, सवारीसाधन बाटोमा बिग्रिएर रोकिने अवस्था आएमा यात्रुहरुलाई वैकल्पिक व्यवस्था गराउनुपर्छ । हर्न निषेधित क्षेत्रमा हर्न नबजाउने, लामोदूरीका सवारीसाधनमा प्राथमिक उपचार बक्स राख्ने, यात्रुमैत्री व्यवहार गर्ने, बोल्दा सभ्य भाषाको प्रयोग गर्नुपर्छ । भत्ता वा कमाइको लोभमा लगातार ट्रिप नगर्ने, खानपानमा ध्यान दिने, स्वास्थ्य ठीक भयो भने मात्रै जीवन रहन्छ भन्ने ख्याल गर्नुपर्छ ।

अन्त्यमा निजी क्षेत्रले नेपालमा सार्वजनिक यातायात सेवा प्रदान गरिरहेको छ । सार्वजनिक यातायात सेवा भद्रगोल छ, । सार्वजनिक यातायातमा सरकारको लगानी र व्यवस्थापनबिना सुधार सम्भव छैन, जनतालाई गुणस्तरीय सेवा, भरपर्दो सेवा, सुरक्षित सेवा किफायती सेवा विस्तार गर्ने हो भने अन्य देशहरुले झैँ सरकारकारको प्रत्यक्ष सहभागिता अनिवार्य छ । भविष्यमा सरकारले लगानी गर्ला यतिबेला सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउने, सुरक्षित बनाउने, भरपर्दो बनाउने, विश्वसनीय बनाउने र मर्यादित बनाउन लगानीकर्ता र मजदुरहरुले सरकारको साथ लिएर सकेजति सेवामुखी बनाउन आवश्यक छ । (लेखक नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)
रासस

तपाईको प्रतिक्रिया