काठमाडौँ, १० असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो । सो भेटका अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखि दुई देशबीचको मित्रवत्सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहँदै आएको उल्लेख गर्नुभयो ।
उहाँले राजदूत नोभिकोभको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै दुई देशबीचकोसम्बन्ध सुदृढ बनाउन पु-याउनुभएको योगदानको प्रशंसा गर्नुभयो ।
“आफ्नो कार्यकालको दौरान नेपाल र रुसी महासङ्घकाबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन योगदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले भन्नुभयो । नेपालले रूससँगको साझेदारीलाई विशेष महत्व दिँदै आएको र पूर्वाधार तथा मानव संशाधन विकासमा रूसको दीर्घकालीन सहयोग सराहनीय रहेको उपराष्ट्रपति यादवको भनाइ थियो ।
उपराष्ट्रपति यादवले महामहिम राजदूत नोभिकोभलाई उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल–रुस सम्बन्धमा सद्भाव कायम रहने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत नोभिकोभले नेपाल र रुसबीच ‘मनी ट्रान्जेक्सन’ विषय अगाडि बढाइएको उल्लेख गर्दै दुई मुलुकबीच सिधा हवाई उडान सुचारु गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले रुसमा नेपाली विद्यार्थीका लागि विभिन्न विषयहरुमा छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्नेबारे सकारात्मक पहल भएको उल्लेख गर्नुभयो ।
राजदूत नोभिकोभले मधेश प्रदेशको वीरगञ्जस्थित चिनी मिल पुनःसञ्चालनमा ल्याउनेबारे ‘नोट’ रुसी सरकारलाई प्रेषित गरिसकेकामा स्वदेश फिर्तीपछि यसबारे थप ताकेता गर्ने बताउनुभयो ।
रासस