दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन

  २ घण्टा अगाडि

महेन्द्रनगर (धनुषा), १० असोज : दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले दसैँका बेला यहाँ धेरै श्रद्धालु–भक्तजन आउन भएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसवर्ष सुरक्षा व्यवस्थापनका लागि आठ सय पाँच जना नेपाल प्रहरी, चार सय ५० जना सशस्त्र प्रहरी र ९० जना ट्राफिक प्रहरी संयुक्त रूपमा परिचालन गरिएका छन् । सुरक्षाका लागि मुख्यमुख्य चोक तथा क्षेत्रमा जाँच, गस्ती र सादा पोसाकमा प्रहरी परिचालन गरेको र सहरी क्षेत्रमा कुनै समस्या उत्पन्न भए पाँच मिनेटभित्र तथा ग्रामीण क्षेत्रमा १० मिनेटभित्र प्रहरी टोली पुग्ने गरी व्यवस्थापन योजना बनाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

यस्तै, प्रहरीले नगरवासीलाई शङ्कास्पद गतिविधि गरेको पाइए वा कुनै व्यक्तिमाथि सङ्का लागेमा तुरुन्त जानकारी दिन आग्रहसमेत गरेको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत राजदेवी मन्दिरलगायत अन्य शक्तिपीठमा भक्तजनको भीड व्यवस्थापन, चोरी–डकैती नियन्त्रण तथा सम्भावित दुर्घटना रोकथाम प्राथमिकतामा राखिएको धनुषाका ट्राफिक प्रमुख सूर्यबहादुर शाहीले बताउनुभयो । प्रहरी प्रशासनले भक्तजनको सुरक्षालाई सुनिश्चित गर्न पूर्वतयारीका साथ अभियान सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।
रासस

तपाईको प्रतिक्रिया