ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

  ३ घण्टा अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सो अनुसार एपको नियन्त्रण उहाँको राजनीतिक र व्यवसायिक सहयोगीहरूले सम्हाल्नेछन् ।

यस सम्झौतापछि अमेरिकाभित्र टिकटकको चिनियाँ स्वामित्व २० प्रतिशतमा सीमित हुनेछ । चीनले भने शुक्रबार प्रतिक्रिया दिँदै यस विषयमा ‘खुला र निष्पक्ष’ व्यवहारको आह्वान दोहोर्‍याएको छ ।

एक करोड ७० लाखभन्दा बढी अमेरिकी प्रयोगकर्तासहित टिकटक विश्वकै लोकप्रिय छोटो भिडियो प्लेटफर्ममध्ये एक हो । तर चिनियाँ मूल कम्पनी बाइटडान्सको स्वामित्वले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता बढाएको छ, जसका कारण वासिङ्टनले अमेरिकी सञ्चालनको नियन्त्रण लिन दबाब दिएको हो ।

ह्वाइट हाउसमा भएको हस्ताक्षर समारोहमा ट्रम्पले एपको अमेरिकी संस्करण ‘उच्च स्तरका लगानीकर्ताहरू’ अर्थात् उहाँका नजिकका सहयोगीहरूको समूहले सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार एप राजनीतिक दृष्टिले कुनै पनि धारमा झुक्नेछैन ।

लगानीकर्ताहरूमा ओरेकलका संस्थापक ल्यारी एलिसन, टेक उद्यमी माइकल डेल र मिडिया टाइकुन रुपर्ट मर्डोक सामेल हुनुहुन्छ । साथै, सिल्भर लेक म्यानेजमेन्ट र सिलिकन भ्यालीको शक्तिशाली लगानी संस्था एन्ड्रिसन होरोविट्ज पनि सम्झौतामा छन् ।

“यो विनिवेशले लाखौँ अमेरिकी प्रयोगकर्तालाई टिकटक प्रयोग गर्न निरन्तर अनुमति दिनेछ, तर उनीहरूको डाटा राष्ट्रिय सुरक्षासँग सुरक्षित रहनेछ”, ट्रम्पले भन्नुभयो ।

– निरन्तर निगरानी –

नयाँ व्यवस्थाअनुसार टिकटकको अमेरिकी संस्करणले आफ्नै स्वदेशी एल्गोरिदम मोडेल प्रयोग गर्नेछ । यही एल्गोरिदमलाई प्रायः एपको ‘गोप्य सफलता सूत्र’ मानिन्छ । ह्वाइट हाउसका एक अधिकारीले यस एल्गोरिदम ‘अनावश्यक प्रभावमा नपरोस्’ भनेर निरन्तर निगरानी गरिने बताए ।

टिकटकसँग सम्बन्धित नयाँ ढाँचा पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनको कानूनअनुरूप आएको हो । सो कानूनले बाइटडान्सलाई अमेरिकी सञ्चालन बेच्न वा प्रतिबन्धको सामना गर्न बाध्य पारेको थियो ।

अमेरिकी नीतिनिर्माताहरूले चीनले टिकटकमार्फत डाटा सङ्कलन गर्ने वा एल्गोरिदम प्रयोग गरी अमेरिकी जनमानसमा प्रभाव पार्ने जोखिम रहेको दाबी गर्दै आएका छन् ।

ट्रम्पले यसअघि कार्यकारी आदेशमार्फत समयसीमा विस्तार गर्दै सन् २०२५ डिसेम्बर १६ सम्मको समय दिनुभएको थियो । बिहीबारको आदेशले फेरि जनवरी २३ सम्म एक सय २० दिनको थप समय उपलब्ध गराएको छ ।

– चीनको प्रतिक्रिया –

सम्झौतासम्बन्धी प्रश्नमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन संवादको उल्लेख गर्दै भन्नुभयो, “राष्ट्रपति सीले यसलाई अनुमति दिनुभएको छ । उहाँको समर्थन अत्यन्तै महत्त्वपूर्ण छ ।”

राज्य सञ्चालित सिसिटिभीले सीले अमेरिकासँगको वार्ता बजार–आधारित र चिनियाँ कानूनसँग मेल खाने हुनुपर्ने धारणा व्यक्त गर्नुभएको जनाएको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी आशा गर्छौं कि अमेरिकाले चिनियाँ कम्पनीहरूप्रति खुला, निष्पक्ष र गैर–भेदभावपूर्ण व्यापार वातावरण सुनिश्चित गर्नेछ ।”

टिकटकले भने अहिलेसम्म यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन ।
रासस

तपाईको प्रतिक्रिया