जेरुसलेम, ९ असोज : संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सवार विमानले अनौठो हवाइ मार्गको प्रयोग गरेको बताइएको छ ।
विमान विभिन्न युरोपेली मुलुकहरूको हवाइ मार्ग हुँदै बिहीबार न्यूयोर्कका लागि प्रस्थान गरेको थियो। पछिल्लो समय फ्रान्ससहितका केही युरोपेली मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् ।
नेतन्याहुले आफ्नो उडानका लागि अनौठो मार्ग तय गर्नुलाई प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणासँग सम्बन्धित सन्दर्भसँग जोडेर हेरिएको अनुमान गरिएको छ ।
फ्रान्सले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न इजरायललाई अनुमति दिएको भएपनि उडान ‘ट्रयाकिङ् डाटा’ले नेतान्याहूको विमानले दक्षिणी बाटो लिएको देखाएको एएफपीसँग कुरा गर्ने एक फ्रान्सेली कूटनीतिक स्रोतले बताएकोे छ । विमानले सुरूमा ग्रीस र इटालीको आकास भएर एट्लान्टिक पार गर्नु अघि जिब्राल्टरको हवाइ मार्ग हुँदै दक्षिणतिर मोडिएको थियो ।
बेलायत, फ्रान्स र पोर्चुगलले यस हप्ता प्यालेस्टाइन राज्यलाई मान्यता दिने देशहरूको श्रृङ्खलामा आफुलाई सामेल गराएका थिए । यो कदमको प्रधानमन्त्री नेतान्याहूले कडा विरोध गर्नुभएको थियो । आयरल्याण्ड र स्पेनले अस अघि मे महिनामा नै प्यालेस्टाइनलाई एक स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका थिए ।
केही इजरायली सञ्चारमाध्यमले नेतान्याहूको विमानले रोम सम्मेलनमा प्यालेस्टाइनलाई मान्यता दिने सहमति गर्ने प्रस्तावमा हस्ताक्षर गर्ने देशहरूको मार्ग प्रयोग नगर्ने उद्देश्य राखेको बताएका छन् । उनीहरूले आपतकालीन अवतरणको मामलामा अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको गिरफ्तारी कानुन प्रयोग गर्न सक्ने सम्भावनाप्रति नेतन्याहुले आफुलाई सजग बनाएको हुनसक्ने अनुमान गरिएको केही इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
गत नोभेम्बरमा आइसिसीले नेतन्याहू र उहाँका पूर्व रक्षामन्त्री योभ ग्यालान्टविरुद्ध गाजामा इजरायलको सैन्य आक्रमणका क्रममा भएको कथित युद्ध अपराधको आरोपमा पुर्जी जारी गरेको थियो।
स्पेनले गत हप्ता आइसिसीको अनुसन्धानलाई समर्थन गर्ने घोषणा गरेको थियो र गाजामा कथित मानवअधिकार उल्लङ्घनको छानबिन गर्न एक टोली गठन गरेको थियो।
नेतान्याहुले शुक्रबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले आगामी साता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । (रासस/एएफपी)