अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नयाँ शान्ति योजनाले गाजामा छाउला शान्ति ?

  ६ घण्टा अगाडि

दुबई, ९ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब र इस्लामिक देशका नेताहरूसँग गाजामा शान्तिका लागि नयाँ योजनाको प्रस्ताव सार्वजनिक गर्नुभएको छ ।

यो योजना संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई दिइएको र यसले इजरायल र मध्यपूर्वका देशहरूको चासोलाई सम्बोधन गर्ने विश्वास लिइएको वासिङ्टनले जनाएको छ ।

गाजा क्षेत्र लगभग दुई वर्षको विनाशकारी युद्धबाट प्रायः भग्नावशेषमा परिणत भएको छ यसलाई समाधान गर्न अघि सारिएको भनिएको ट्रम्पको पछिल्लो पहल के हो त ? एएफपीले प्राप्त जानकारी यही समाचारमा प्रस्तुत गरिएको छ ।

– योजनामा के छ? के साच्चै लडाई रोकिएला? –
बैठकबारे जानकार एक कूटनीतिक स्रोतले एएफपीलाई बताए अनुसार योजनाले गाजामा स्थायी युद्धविराम, प्यालेस्टिनी क्षेत्रमा बन्धकहरूको रिहाइ र इजरायली सेनाको फिर्ती र मानवीय सहायताको प्रवाहको परिकल्पना गरेको छ ।

स्रोतका अनुसार अरब र मुस्लिम नेताहरूले प्रस्तावको स्वागत गरेका छन् र गाजामा इजरायलको सैन्य कारबाही र क्षेत्र कब्जा गर्ने कुनै पनि प्रयासलाई अन्त्य गर्न पनि आह्वान गरेका छन् ।

ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले बुधबार भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र गाजामा शान्तिका लागि ट्रम्पको २१ बुँदे योजना प्रस्तुत गरेको छ ।”

“मलाई लाग्छ यसले इजरायलको चासो र यस क्षेत्रका सबै छिमेकीहरूको चासोलाई सम्बोधन गर्दछ,” उहाँले महासभाको अवसरमा न्यूयोर्क पुगेका नेताहरूसँग छुट्टै भएको एक शिखर सम्मेलनमा भन्नुभयो ।

अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार ट्रम्पले अरब र मुस्लिम नेताहरूलाई युद्ध तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले जति लामो समयसम्म युद्ध लम्बिन्छ त्यति नै इजरायल अन्तर्राष्ट्रिय रूपमा एक्लिन सक्ने सम्भावना छ बढ्दै जाने चेतावनी दिनुभएको बताइएको छ ।

– हमासलाई के हुन्छ ? –
कुटनीतिक स्रोतले नाम नबताउने सर्तमा संवेदनशील बैठकबारे छलफल भएको तर यसमा हमासलाई समावेश नगरिएको बताएको छ। स्रोतले भन्यो, “अमेरिकी योजनाले गाजाको लागि नयाँ शासन पहलको प्रस्ताव गरेको छ जसमा हमासलाई समावेश गरिएको छैन ।”

सन् २०२३ अक्टोबरमा दक्षिणी इजरायलमा हमासको आक्रमणबाट गाजा युद्ध सुरु भएदेखि इजरायलले प्यालेस्टिनी लडाकुहरूलाई समाप्त गर्ने वाचा गरेको छ र सत्तामा उसकोे भविष्यको कुनै भूमिका नहुने बताएको छ ।

अरब र मुस्लिम नेताहरूले बैठकमा प्यालेस्टाइन प्राधिकरणको सुधारलाई कमजोर पार्ने वा गाजा र इजरायलको कब्जामा रहेको वेस्ट बैङ्क दुवैमा शासन गर्ने अधिकारलाई रोक्ने कदमहरूको विरोध गरेको पनि स्रोतले जानकारी गराएको छ ।

एक्सिओसका अनुसार ट्रम्पको योजनामा प्यालेटिनी प्राधिकरणको केही भूमिकाको कल्पना गर्दै क्षेत्रीय राज्यहरूबाट आर्थिक सहयोगमा एक सुरक्षा बलको स्थापना गर्ने जसले प्यालेस्टिनीहरूलाई अरब र मुस्लिम देशका सेनाहरूसँग समन्वय गर्ने, पुनर्निर्माण र गाजामा नयाँ प्रशासनलाई सहयोग गर्नेछ ।

अमेरिकी प्रस्तावलाई ट्रम्पका ज्वाइँ जारिड कुश्नर र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले विगत छ महिनामा छलफल गरेका विचारहरू भन्दा भिन्नरूपमा वर्णन गरिएको छ ।

–वस्ती बिस्तार रोक्ने सुनिश्चतता–
अरब र मुस्लिम नेताहरूले पश्चिम किनाराका केही भागहरू कब्जा गर्ने वा जेरुसेलमको पवित्र स्थलहरूमा कानुनी र ऐतिहासिक यथास्थितिलाई परिवर्तन गर्ने कुनै पनि उपायको बिरूद्धमा आश्वासनको लागि दबाब दिएका थिए ।

कुटनीतिक स्रोतले भनेको छ, “नेताहरूले गाजावासीहरूको विस्थापन, उनीहरूको फिर्तीमा कुनै अवरोध र गाजा कब्जा गर्ने कुनै पनि प्रयासको बिरूद्ध ग्यारेन्टी गर्न आग्रह गरेका छन् ।”

एक्सिओसका अनुसार ट्रम्पले मध्यपूर्व र अन्य मुस्लिम नेताहरूलाई आफूले इजरायललाई वेस्ट बैङ्कको केही भाग कब्जा गर्न नदिने बताएका थिए । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया