कांग्रेस मधेशले सरकारबाट समर्थन फिर्ता लियो

  ४ घण्टा अगाडि

काठमाडौँ, ८ असोज : नेपाली कांग्रेस मधेशले जनमत पार्टी नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार जनकपुरधाममा बसेको कांग्रेस मधेश प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गर्दै आजकै मितिबाट सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने र सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकमा उपस्थित प्रदेशसभा सदस्यहरुले छलफल गर्दै जनमत पार्टीले नै मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाइ सकेकाले नेपाली कांग्रेसले समर्थन जारी राख्न औचित्य नरहेको निष्कर्ष निकालेका थिए ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– “सरकारको नेतृत्व गरिरहेको दल जनमत पार्टीले नै वर्तमान सरकारलाई दिइरहेको समर्थन फिर्ता लिएर मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाइसकेको अवस्थामा नेपाली कांग्रेस पार्टीले समर्थन दिई रहनुपर्ने कुनै औचित्य छैन । त्यसैले आजकै मितिबाट समर्थन फिर्ता लिइएको छ ।”

जनमत पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले पनि आजदेखि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको कांग्रेस मधेशका महामन्त्री वृहस्पति श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, कांग्रेस मधेशका सभापति कृष्णप्रसाद यादवले पार्टीले व्यक्तिलाई नभई संस्थालाई समर्थन गर्ने परम्परा रहेको उल्लेख गर्दै मंगलबार बसेको प्रदेशसभा बैठकमा जनमत पार्टीका सम्पूर्ण सदस्यहरु (मुख्यमन्त्री बाहेक) प्रतिपक्षको बेन्चमा बसेपछि कांग्रेसले पनि समर्थन फिर्ता लिन विवश भएको बताउनुभयो ।

“मुख्यमन्त्रीलाई राजिनामा दिन हामीले माग गरेका थिएनौं, उहाँले आफैं राजिनामा दिनुभयो । उहाँको पार्टीले समेत मुख्यमन्त्रीसहित आफ्ना मन्त्री फिर्ता बोलाएपछि हामीले पनि संस्थागत औचित्यका आधारमा समर्थन फिर्ता लिएका हौं,” सभापति यादवले स्पष्ट पार्नुभयो ।

यादवका अनुसार प्रदेशसभामा जनमत पार्टीका सबै सदस्य प्रतिपक्षी बेन्चमा गएर बसेपछि कांग्रेसले पनि समर्थन जारी राख्ने औचित्य नदेखेको हो ।

तपाईको प्रतिक्रिया