लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

  १२ घण्टा अगाडि

धरान (सुनसरी), ८ असोज : धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म पुल निर्माण पूरा भएको छैन । पुल नबन्दा स्थानीयवासीले सास्ती भोग्नु परिरहेको छ ।

पुल निर्माणका लागि विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु एक करोड २१ लाख ८६ हजार आठ सय १३ को लागतमा सम्झौता भएको थियो । सम्झौतअनुसार विसं २०७८ साउन ७ गतेभित्र पुलको निर्माण पूरा हुनुपर्ने थियो ।

यद्यपि पुल निर्माण अहिले ५० प्रतिशत मात्रै पूरा भएको धरान उपमहानगरपालिका–५ का अध्यक्ष मनप्रसाद लिम्बूले बताउनुभयो । उहाँका अनुसार दुवैतर्फका पिलरहरू उठाइए अहिले सबै झाडीले ढाकिसकेको छ । अरू संरचनात्मक काम अलपत्र अवस्थामा छन् ।

पुल नबन्दा धरान उपमहानगरपालिका–५ र ४ का साथै धरान बजारसँगको आवतजावतमा समस्या भएको छ । बर्खामा खोलामा आउने बाढी आउने भएकाले गाउँलेहरू ज्यानको जोखिम मोलेर खोला पार गर्न बाध्य छन् । “बिरामी परे अस्पताल पु¥याउन कठिन हुन्छ, बाँसको अस्थायी पुल बनाउने प्रयास गरे पनि बाढीले भत्काइदिन्छ”, अध्यक्ष लिम्बूले भन्नुभयो ।

स्थानीय नरबहादुर मगरका अनुसार खोला तरेर विद्यालय जानुपर्ने बालबालिका बर्खामा झन् समस्यामा पर्छन् । बाढीको बेला बालबालिका खोलाको किनारमा घण्टौसम्म बस्नुपर्छ । “गाउँमा उत्पादन भएको कृषि उपज धरान लैजानका लागि पनि समस्या छ, पुल निर्माण भए सहज हुन्थ्यो भन्ने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

धरान–५ मा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । कक्षा ६ देखि माथिल्लो कक्षा पढ्न खोलापारीको धरान बजार पुग्नुपर्छ । मनटार, सुमनटार, मुक्तिलाल, निशान डाँडा र तल्लो निशान डाँडाका विद्यार्थीहरू दैनिक जोखिम मोलेर विद्यालय जान बाध्य छन् ।

पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले काम नगरेको गुनासो स्थानीयको छ । गत चैत १२ गते ठेकेदारलाई बोलाएर “जेठ मसान्तसम्म काम सक्ने गरी सहमति गरायौँ, तर अहिले त सम्पर्कमै छैन”, अध्यक्ष लिम्बूले भन्नुभयो ।

पुल निर्माणका विषयमा गत चैतमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गर्नुभएको थियो । मन्त्री राईका अनुसार काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया सुरु गरिएको थियो । तर ठेकेदार कम्पनीले अदालतबाट स्टे–अर्डर लिएपछि काम अघि बढ्न नसकेको उहाँको भनाइ छ ।
रासस

तपाईको प्रतिक्रिया