दसैंको रौनक नजिकिएसँगै लेकका च्याङ्ग्रा सहरमा

  ११ घण्टा अगाडि

गण्डकी, ७ असोज : कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मङ्गलबार पर्यटकीय सहर पोखरा झर्दै थिए । पोखरा–बागलुङ राजमार्गमा सवारीसाधन नै रोकिने गरी च्याङ्ग्राको लामो ताँती देखिन्थ्यो । व्यापारीहरू साइसाइ सुइसुइ गर्दै च्याङ्ग्रालाई हिँडाइरहेका थिए । च्याङ्ग्राको बथानले दसैँको छनक दिएको थियो । चाडबाडका लागि हिमालपारिको जिल्ला मुस्ताङदेखि च्याङ्ग्रा पोखरा झारिएको हो ।

यहाँ नवरात्र सुरु हुनुपूर्व नै च्याङ्ग्रा भित्रन सुरु गरेका थिए । पोखरामा बर्सेनि दसैँमा हजारौँ च्याङ्ग्राको खरिदबिक्री हुने गर्छ । व्यापारीले मुस्ताङदेखि ल्याएका च्याङ्ग्रालाई पोखराको सिमपानी क्षेत्रमा केन्द्रित गरी बिक्री सुरु गर्छन् । विशेष गरी दसैँको घटस्थापनादेखि च्याङ्ग्राको किनमेल बढी हुने गरेको छ ।

दसैँका बेला पोखरा, बागलुङलगायत यहाँका सहरी क्षेत्रमा मुस्ताङ, डोल्पालगायत हिमाली भेगबाट च्याङ्ग्रा, भेँडा र चेलु ल्याउने गरिन्छ । दसैँलाई च्याङ्ग्रा लिन अधिकांश व्यापारीहरू हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यवसायी महेन्द्र केसी र ज्ञानबहादुर कार्की मिलेर यसपालि ५९ वटा च्याङ्ग्रा बागलुङ झारेका छन् ।

मुस्ताङको जोमसोम पुगेर च्याङ्ग्रा ल्याएको केसीले बताउनुभयो । रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु ३८ हजार पाँच सय तिरेकाले बागलुङ ल्याएर बेच्दा रु ४५ हजार पुगेको उहाँको भनाइ छ । “रोज्जा च्याङ्ग्रा रु ४५ हजार र चेलु रु ४० हजारमा बिक्री भइरहेको छ”, केसीले भन्नुभयो, “पसलबाट बेच्दा च्याङ्ग्राको प्रतिकिलो रु २२ सय र चेलुको रु १८ सय मूल्य पर्छ ।” केसीले दसैँका बेला बागलुङ नगरपालिका–२ मा रहेको ‘नवदुर्गा मासु पसल’बाटसमेत च्याङ्ग्राको मासु बेच्दै आउनुभएको छ ।

दशैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन थालेपछि आफँैले च्याङ्ग्रा ल्याएर बेच्न थालेको उहाँले बताउनुभयो । केसीले च्याङ्ग्राको कारोबार गर्न थालेको एक दशक बितिसकेको छ । बागलुङमा पहिलेको तुलनामा च्याङ्ग्रा कम भित्रने गरेको उहाँको अनुभव छ । “एउटै दसैँमा दुई हजारसम्म च्याङ्ग्रा आउने गर्थे, अहिले च्याङ्ग्राको मूल्य बढेपछि व्यवसायीहरू पनि कारोबार गर्न अनिच्छुक देखिएका छन्”, केसीले भन्नुभयो ।

कोभिड–१९ महामारीपछि झण्डै दोब्बरले च्याङ्ग्राको मूल्य बढेको व्यवसायी बताउँछन् । च्याङ्ग्रापालन कम हुनु, बढ्दो करजस्ता कारणले पनि मूल्य महगिँदै गएको उनीहरूको भनाइ छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।

मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन् । त्यहाँबाट म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा ल्याइपु¥याउन हप्ता दिनसम्म लाग्छ । मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ । मुस्ताङका युवा व्यवसायी निरज थकालीले मङ्गलबार म्याग्दीको बैसरीबाट दस वटा ट्रकमा काठमाडौँ र दुई वटा ट्रकमा च्याङ्ग्रा पोखरा ल्याउन लागिएको बताउनुभयो ।

एउटा ट्रकमा ८० देखि ९० वटासम्म च्याङग्रा अट्ने उहाँको भनाइ छ । व्यवसायी थकालीले आफूले ल्याएका दुई सय च्याङ्ग्रामध्ये एक सय पोखरा र एक सय काठमाडौँ पठाउन लागेको बताउनुभयो । “यस वर्ष पोखरामा झण्डै दस हजार र काठमाडौँमा पाँच हजार मुस्ताङी च्याङ्ग्रा पुग्दैछ”, उहाँले भन्नुभयो, “कतिपय व्यापारी च्याङ्ग्रा लिएर फर्किसके र कोही बाटोमै छ्न्, यस वर्ष मुस्ताङबाट १५ हजार बढी च्याङ्ग्रा बाहिरिने अनुमान छ ।”

मुस्ताङदेखि बागलुङ, पोखरा हुँदै काठमाडौँसम्म ट्रकमा च्याङ्ग्रा लाने गरिएपनि केही व्यापारीले भने हिँडाएर पोखरासम्म ल्याउने गरेका छन् । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भएपनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दसैँ नै कुनुपर्छ । दसैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ (रासस)

तपाईको प्रतिक्रिया