फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे मानवताविरुद्ध अपराधमा अभियुक्त

  ४ घण्टा अगाडि

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि मानवताविरुद्ध अपराधको आरोप लगाइएको छ । उहाँलाई राष्ट्रपति र मेयर रहँदा कम्तीमा ७६ जनाको हत्या संलग्नतामा दोषी ठहर गरिएको हो ।

अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) का अभियोजनकर्ताले जुलाई ४ मा पेस गरेको १५ पृष्ठ लामो आरोपपत्र सोमबार सार्वजनिक गरिएको हो । यसमा डुटेर्टेले ‘कथित लागुऔषध व्यापारी, प्रयोगकर्ता तथा अन्य अपराधीहरूविरुद्ध हत्या र हिंसात्मक कार्य गर्न निर्देशन र अधिकार दिएको’ दाबी गरिएको छ ।

पहिलो अभियोगअनुसार उहाँले सन् २०१३–२०१६ बीच दाभाओ सहरको मेयर हुँदा १९ जनाको हत्या गराउनुभएको थियो । दोस्रोमा, सन् २०१६–२०१७ मा राष्ट्रपति हुँदा लक्षित हत्यामा १४ जनाको मृत्यु भएको उल्लेख छ । तेस्रो अभियोगले सन् २०१६–२०१८ बीच ‘निकासी अभियान’ मा ४३ जनाको हत्या भएको दाबी गर्छ ।

डुटेर्टे, उहाँका वकिल वा परिवारले यी आरोपहरूबारे तत्काल प्रतिक्रिया दिएका छैनन् । राष्ट्रपति रहँदा उहाँले गैरन्यायिक हत्यालाई अस्वीकार गरे पनि खुलेर लागुऔषध संदिग्धहरूलाई मृत्युदण्ड दिने धम्की दिनुभएको थियो । उहाँले हिंसात्मक प्रतिरोध गर्नेहरूलाई गोली चलाउन प्रहरीलाई प्रोत्साहन गर्नुभएको थियो ।

मार्चमा फिलिपिन्सका अधिकारीहरूले आइसिसीले जारी गरेको वारेन्टमा उहाँलाई पक्राउ गरी नेदरल्यान्ड्सस्थित आइसिसीको हिरासतमा राखिएको हो ।

उहाँका समर्थकहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको प्रशासनमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएका छन् । उनीहरूको भनाइमा आइसिसीको क्षेत्राधिकार विवादित छ ।

अदालतमा सुनुवाइ मङ्गलबार सुरु हुने तय भए पनि डुटेर्टे मुद्दा चलाउन योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने वकिलहरूको तर्क मूल्याङ्कन गर्न न्यायाधीशहरूले समय मागेपछि स्थगित गरिएको छ ।
रासस

तपाईको प्रतिक्रिया