विश्व नेताहरू यस हप्ता संयुक्त राष्ट्र महासभाको ८०औँ सत्रका लागि न्युयोर्कमा भेला भएका छन् । त्यहाँ गाजा र युक्रेन द्वन्द्व प्रमुख छलफलको विषय बन्ने अपेक्षा गरिएको छ ।
म्यानहट्टनस्थित संयुक्त राष्ट्र मुख्यालयमा मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय सामान्य बहससँगै वार्षिक सभा सेप्टेम्बर ९ मा आधिकारिक रूपमा प्रारम्भ भएको हो ।
परम्पराअनुसार ब्राजिलले पहिलो वक्ताका रूपमा बोल्ने गर्दछ, त्यसपछि आयोजक राष्ट्र अमेरिकाले सम्बोधन गर्छ । यो परम्परा सन् १९५५ देखि कायम छ ।
यस पटकको महासभा बढ्दो अन्तर्राष्ट्रिय तनावबीच आयोजना भएको हो । गाजामा इजरायलको सैन्य अभियान र युक्रेनमा रुसको युद्ध छलफल र कूटनीतिक भेटवार्तामा प्रमुख हुने देखिएको छ ।
फ्रान्स र साउदी अरेबियाले सोमबार प्यालेस्टिनी राज्यको मान्यताका लागि बैठक आयोजना गरेका थिए । अमेरिकी भिसा नपाएका प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भिडियोमार्फत सम्बोधन गर्नुहुनेछ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार बोल्नुहुनेछ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की न्युयोर्क आइपुग्नुभएको छ । उहाँले सामान्य बहस र द्विपक्षीय बैठक दुवैमा भाग लिनुहुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रथम महिलासहित मुख्य सम्बोधन गर्ने र विभिन्न राष्ट्र प्रमुखहरूसँग बहुपक्षीय छलफल गर्ने कार्यक्रम छ ।
यसपटक धेरै प्रमुख शक्तिहरूका शीर्ष नेताहरू उपस्थित छैनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभले प्रतिनिधित्व गर्नुहुनेछ । चीनको नेतृत्व प्रधानमन्त्री ली किआङले गर्नुहुनेछ भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्थानमा विदेशमन्त्री एस जयशङ्करले प्रतिनिधित्व गर्नुहुनेछ ।
जयशङ्करले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग व्यापार, रक्षा, ऊर्जा र खनिज सहयोगबारे छलफल गर्नुभएको छ । उहाँले युरोपेली युनियन (इयु) का विदेशमन्त्री र अमेरिकाका राजदूत सर्जियो गोरसँग पनि भेटवार्ता गर्नुभएको छ ।
विशेषतः सिरियाका राष्ट्रपति अहमद अल–साराले सन् १९६७ पछि पहिलो पटक महासभामा सम्बोधन गर्नुहुनेछ । इरानी राष्ट्रपति मसुद पेजेस्कियान र कतारी अमिर शेख तमिम बिन हमद अल–थानी पनि सहभागी हुनुहुनेछ ।
यस वर्षको विषयवस्तु ‘एकसाथ राम्रोः शान्ति, विकास र मानव अधिकारका लागि ८० वर्ष र सोभन्दा बढी’ रहेको छ ।
महासभा अध्यक्ष एनालेना बारबकले यसलाई अन्तर्राष्ट्रिय सहयोगलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा प्रस्तुत गर्नुभएको छ ।
सन् १९४५ मा स्थापनापछि संयुक्त राष्ट्रसङ्घले ल्याएको उपलब्धि सुरक्षित गर्ने, संस्थालाई भविष्यअनुकूल बनाउने र विश्वव्यापी सङ्कटबीच सहयोग बढाउने महासभाको प्रमुख लक्ष्य रहेको छ ।
रासस