चीनका लागि अमेरिकी कङ्ग्रेस प्रतिनिधिमण्डलका नेताले मङ्गलबार दुई देशका सेनाबीच ‘गलतफहमीको जोखिम’ बढ्दै गएको चेतावनी दिएका छन् । रक्षा प्रविधि तीव्र गतिमा अघि बढिरहेका कारण आपसी द्वन्द्वको सम्भावना उच्च रहेको उनले बताए ।
वासिङ्टनको सशस्त्र सेवा समितिका वरिष्ठ डेमोक्रेट एडम स्मिथले बेइजिङमा पत्रकारलाई चीनले विश्व शक्तिसँग ‘द्वन्द्व निवारणका लागि थप संवाद गर्नुपर्ने’ धारणा राख्नुभयो । “हाम्रा जहाज र विमान तिनीहरूको जहाज र विमानसँग धेरै नजिक आउँदैछन् । द्वन्द्व टार्न अझ राम्रो संवाद आवश्यक छ”, उहाँले अमेरिकी दूतावासमा भन्नुभयो ।
चार सदस्यीय प्रतिनिधिमण्डलमा डेमोक्रेट रो खन्ना र क्रिसी हौलहानसँगै रिपब्लिकन सांसद माइकल बाउमगार्टनर पनि हुनुहुन्छ । समूहले सोमबार चिनियाँ रक्षामन्त्री डोङ जुनसँग भेट गरी ‘मतभेदमार्फत काम गर्ने’ र संवाद बढाउने विषयमा छलफल गरेको थियो । डोङले आपसी सम्बन्धमा ‘विघटनकारी कारकहरू हटाउन’ आग्रह गर्नुभएको चीनको सिन्ह्वा एजेन्सीले जनाएको छ ।
मङ्गलबार अन्य सांसद र अमेरिकी राजदूत डेभिड पड्र्युसँगै बोल्दै स्मिथले भन्नुभयो, “एआई, ड्रोन, साइबर र अन्तरिक्ष युद्ध तीव्र गतिमा विकसित भइरहेका छन् । क्षमताको गलत बुझाइको जोखिम ठूलो छ, त्यसैले स्पष्ट संवाद अत्यावश्यक छ ।”
– कर र टिकटक –
द्विदलीय प्रतिनिधिमण्डल राष्ट्रपति सी जिनपिङ र डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको केही दिनपछि चीन पुगेको हो ।
ट्रम्पले आगामी महिनाको अन्त्यमा दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समिटमा सीसँग भेट्ने र अर्को वर्ष चीन भ्रमण गर्ने बताउनुभएको छ । सीले पनि कुनै समयमा अमेरिकाको भ्रमण गर्नुहुनेछ ।
यसअघि दुवै देशले एकअर्काविरुद्ध भन्सार शुल्क बढाउँदा आपूर्ति शृङ्खला प्रभावित भएको थियो । पछि वासिङ्टन र बेइजिङबीच सम्झौता भई अमेरिकी आयातमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क घटाएका थिए । तर यो सम्झौता नोभेम्बरमा समाप्त हुनेछ ।
स्मिथ नेतृत्वको टोलीले सोमबार चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग व्यापार वार्ता, फेन्टानिल, महत्त्वपूर्ण खनिज र टिकटकको भविष्यबारे छलफल गरेको थियो ।
ह्वाइट हाउसका अनुसार टिकटकको अमेरिकी संस्करणले एल्गोरिदमको घरेलु मोडेल प्रस्तुत गर्नेछ, जसले अमेरिकामा चिनियाँ स्वामित्वको प्लेटफर्म सञ्चालनको अवरोध हटाउन सक्छ । तर स्मिथले ‘यो मुद्दा अझै सतप्रतिशत समाधान भएको छैन’ भन्नुभएको छ ।
प्रतिनिधिमण्डलले चीनको नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजी र विदेशमन्त्री वाङ यीलाई समेत भेट्ने कार्यक्रम छ ।
रासस