सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

  ६ घण्टा अगाडि

रामपुर (पाल्पा), ७ असोज : सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा लाभ उठाउने कार्य भइरहेको छ । व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक जग्गा हडपेर भोगचलन गर्ने कार्य कायमै छ । उद्यान, चौतारी, सडक, धार्मिकस्थल, ताल, पर्यटन विकासलगायतका विकास नागरिक हितका हुन् । यस्ता कार्यमा चासो र चिन्तन भने कमै हुने गरेको छ ।

तर रामपुर नगरपालिकाले नागरिक हित र नगरको विकासका लागि व्यक्तिले वर्षौँदेखि भोगचलन गर्दै आएका सार्वजनिक जग्गा छुट्याएर विभिन्न संरचना निर्माणमा जोड दिएको छ । सार्वजनिक जग्गा संरक्षणका लागि नगर सरकार तदारुकताका साथ लागेको छ । नगरपालिकाले १० वटै वडामा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य गरिरहेको छ । हाललाई सबैभन्दा ठूलो मानव बस्ती रहेको वडा नं ५ मा मिचिएका सार्वजनिक जग्गा नाप नक्साङ्कन गरेर छुट्याइएको छ ।

रामपुर–५ भित्र पर्ने मटेरी ठूलोटार, इलाका प्रहरी कार्यालय, सानीअमराई क्षेत्र, बहखोला, भम्बक आर्मिक्याम्प, सिमलघारी बसपार्क, नहरअफिस, आयुर्वेद अस्पताल क्षेत्रमा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य भएको छ । यी क्षेत्रलाई व्यवस्थित बनाउँदै लगिएको छ । व्यक्तिले सार्वजनिक जग्गा मिचेर भोगचलन गर्दै आएका जग्गा छुट्टयाएर पिल्लर गाड्ने, वृक्षरोपण, सडक, उद्यान निर्माण, सौन्दर्यकरणजस्ता काम भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताउनुभयो ।

“वर्षौँदेखि व्यक्तिले भोगचलन गरेको जग्गा छुट्याएर काम गर्न चुनौती झेल्नुपर्यो, सार्वजनिक जग्गा अधिकरण गरेर व्यक्तिले लाभ लिएको जग्गा अहिले नाप नक्साङ्कन गरेर राखिएको छ”, वडाध्यक्ष पोखरेलले भन्नुभयो, “नक्साअनुसार काम गरिएको छ, यस कार्यमा स्थानीयसँग धेरै विवाद सामना गर्नुपर्यो, अहिले हाम्रो वडामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने समस्या समाधान भएको छ ।”

मटेरी ठूलोटार क्षेत्रमा चारैतिर ३८ वटा पिलर गाडेर सार्वजनिक जग्गा छुट्याइएको छ । इलाका प्रहरी कार्यालय, रामतुलसी नमूना माविको खेलमैदान र व्यक्तिको विवादित बनेको जग्गा छुट्याएर वर्षौँदेखि समस्या समाधानका लागि पिलर गाडेर राखिएको छ । इलाका प्रहरी कार्यालयको पश्चिम क्षेत्रमा रहेको भान्साघर परिसरसम्म सार्वजनिक जग्गा रहेको पाइएपछि अब सो क्षेत्रमा नयाँ स्थायी संरचना बनाउन नपाउनेगरी पिलर गाडेर जग्गा छुट्याउने काम सकिएको वडाध्यक्ष पोखरेल बताउनुहुन्छ । व्यक्तिले अतिक्रमण गरेर प्रयोग गरेका सार्वजनिक जग्गालाई नाप नक्साङ्कन गरेर सो क्षेत्रमा अहिले मनोरञ्जन उद्यान, व्यायामशाला, सडक निर्माण तथा विस्तार, वृक्षरोपणजस्ता कार्य हुन थालेपछि रामपुरको स्वरुप फेरिँदै गएको छ ।

रामपुर नगरपालिकाले २०८० सालदेखि सार्वजनिक जग्गा संरक्षण अभियान थालेको हो । नगरपालिकाले बजेट नै विनियोजन गरेर यो कार्य गरिरहेको छ । नगरपालिकाले पहिलो र दोस्रो वर्ष रु पाँच–पाँच लाख, वडा नं ५ कार्यालयले वडाभित्रका सार्वजनिक जग्गा छुट्याउनका लागि पहिलो वर्ष रु एक लाख रकम विनियोजन गरेर काम गरेको वडाध्यक्ष पोखरेलले जनाउनुभयो ।

नगरले राष्ट्रिय गौरवका योजनाबाट सार्वजनिक जग्गा छुट्याउने कार्य थालनी गरेको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हडपेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर पर्यटन विकास, बालउद्यान, खेलमैदान स्तरोन्नति गर्दै सौन्दर्यकरण गर्दै लैजाने नगरप्रमुख थापा बताउनुहुन्छ ।

“कसैले पनि व्यक्तिगत रूपमा आफूलाई लाभ लिने उद्देश्यले सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन, त्यस्ता जग्गा पहिचान गरेर नगरपालिकाको हित हुने र सर्वसाधारण, समुदायले प्रत्यक्ष लाभ लिने खालका पूर्वाधार विकास गर्दै जान्छौँ, सार्वजनिक जग्गा छुट्याउने कार्यलाई नगरले जोड दिएको छ”, नगरप्रमुख थापाले भन्नुभयो ।

रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने नगरवासीको मागअनुसार काम भइरहेको छ । सार्वजनिक जग्गा संरक्षण अभियानमा नगरवासीले साथ दिएका छन् । पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको छ । रामपुरमा तत्कालीन गाउँ पञ्चायत र गाउँ विकास समितिले जग्गा बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिँदै आएको थियो ।
रासस

तपाईको प्रतिक्रिया