काठमाडौँ, ७ असोज : ‘चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा’ भन्ने नाराका साथ चीनको चियुवान सहरमा पहिलो राष्ट्रिय संस्कृति तथा कला सप्ताह र ‘बाँदर पर्वतमा बाँदर राजा प्रतियोगिता’ उद्घाटन भएको छ ।
सो कार्यक्रम ‘लियु स्याओलिङथोङ कार्यशाला’ र ‘चियुवान सांस्कृतिक पर्यटन लगानी समूह’ले संयुक्त रूपमा आयोजना गरेको हो । सो महोत्सवले चिनियाँ परम्परागत संस्कृतिको उत्खनन गर्ने, चियुवानको सांस्कृतिक–पर्यटनको प्रवर्द्धन गर्ने, र ‘हनान घुमौँ, चीन बुझौँ’ अभियानलाई नयाँ ऊर्जा दिने उद्देश्य राखेको छ ।
कार्यक्रममा बाँदर नाच, युद्धकला र नृत्यका मनमोहक प्रस्तुति देखाइएका थिए । करिब ३०० जना देशभरका ‘सुन्दर बाँदर राजा’ प्रतिस्पर्धीको सामूहिक प्रस्तुति उपस्थिति दर्शकका लागि मुख्य आकर्षण बनेको थियो । कार्यक्रममा प्रसिद्ध कलाकार र चीन–नेपाल सांस्कृतिक दूत लियु स्याओलिङथोङ पनि उपस्थित हुनुहुन्थ्यो ।
समारोहमा चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदर मन्दिरबीच विशेष भिडियो संवाद गरिएको थियो । यी दुई स्थल भौगोलिक रूपमा हजारौँ माइल टाढा भए पनि ‘वानर’ को आध्यात्मिक प्रतीकले दुई देशबीच गहिरो सांस्कृतिक सम्बन्धको प्रतिनिधित्व गरेको छ ।
भिडियो सन्देशमार्फत नेपालका पूर्वराजदूत र स्थानीय प्रतिनिधिले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले दुई देशबीच सभ्यताको आरम्भदेखि नै गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताउनुभयो ।
गौतम बुद्ध, कन्फ्युसियस र महामञ्जुश्रीजस्ता ऐतिहासिक व्यक्तित्वले दुई देशबीचको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँले दुवै पक्षले यस सम्बन्धलाई अझ मजबुत बनाउन र जनस्तरमा मित्रतालाई थप गहिरो पार्न निरन्तर काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । सन् २०१८ मा बेइजिङस्थित नेपाली दूतावासमा लियु स्याओलिङथोङले नेपाली पर्यटन प्रवद्र्धनमा दिएको योगदान अविस्मरणीय रहेको उहाँको भनाइ छ ।
पूर्वराजदूत टङ्क कार्कीले मञ्जुश्री बोधिसत्वको बुटाइ पर्वतबाट नेपाल भ्रमण गर्ने किंवदन्ती र फासियान तथा ह्वेनसाङका ऐतिहासिक भ्रमणले चीन–नेपाल सम्बन्धको गहिराइलाई देखाउने उल्लेख गर्नुभयो । लियु स्याओलिङथोङको अभिनयले सुन बुकोंगलाई जीवन्त बनाएको र जनस्तरमै मित्रतालाई मजबुत पारेको उहाँको भनाइ छ ।
पूर्वराजदूत विष्णुपुकार श्रेष्ठले विभिन्न सञ्चार माध्यमबाट सुन बुकोंगको चरित्र नेपालको युवापुस्तामा लोकप्रिय रहेको बताउनुभयो । चीनमा बाँदर विद्रोह, न्याय र शक्तिको प्रतीक मानिने जानकारी दिँदै उहाँले नेपालमा बाँदर बौद्ध धर्ममा संरक्षक र हिन्दू धर्ममा हनुमानसँग जोडिएको स्पष्ट पार्नुभयो । यस्तो सांस्कृतिक सम्बन्धले जनस्तरमै मित्रता अझ गहिरो बनाउने उहाँको भनाइ छ ।
धुलिखेल नगरपालिकाका उपप्रमुख सुवासकाजी श्रेष्ठले स्वयम्भूनाथ महाचैत्य र चीनको बाँदर पर्वत दुवै वर्षको बौद्ध ज्ञानको प्रतीक रहेको बताउनुभयो । बाँदरले मानव, प्रकृति र आध्यात्मिकताको सन्तुलनलाई देखाएको भन्दै उहाँले लियु स्याओलिङथोङले आफ्नो कलात्मक शक्तिबाट दुई देशका जनताको हृदय जितेको धारणा राख्नुभयो ।
कार्यक्रममा ‘पश्चिम यात्रा सांस्कृतिक आदानप्रदान केन्द्र’को उद्घाटन पनि गरिएको थियो । यो कार्यक्रम यही सेप्टेम्बर २७ सम्म सञ्चालन हुनेछ । सो अवधिमा लोककथा, कला प्रदर्शन, अन्तरराष्ट्रिय संवाद, सांस्कृतिक–पर्यटन प्रवर्द्धन र विद्यालयस्तरका कार्यक्रम सञ्चालन हुनेछन् । यसले चियुवानलाई सांस्कृतिक नवप्रवर्तन र आदानप्रदानको केन्द्रका रूपमा पुनःस्थापित गर्ने विश्वास लिइएको चीनको हनान प्रान्त, चियुवान सहर संस्कृति तथा पर्यटन समूह, लियु स्याओलिङथोङको कार्यालयले जनाएको छ ।
रासस