जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

  ८ घण्टा अगाडि

जुम्ला, ७ असोज : कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक मन्दिर जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरिएको छ । जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ–भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिङ्गो सोमबार फेरिएको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।

हरेक वर्ष घटस्थापनाका दिन लिङ्गा फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गो फेरिएको छ । “मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन् । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको हुन्छ”, उहाँले भन्नुभयो ।

भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने परम्परा रहिआएको समितिका अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिङ्गोसहित ध्वजा राख्ने प्रचलन रहिआएको हो ।

वर्षभरि देवीदेवताले प्राकृतिक विपद्बाट रक्षा गरून् भन्ने विश्वाससहित मन्दिरमा लिङ्गो हालेर घटास्थापना गर्ने परम्परा रहेको थापाको भनाइ छ । उहाँका अनुसार मन्दिर क्षेत्रका स्थानीयले सोही मन्दिरको माटो लिएर जमरा राख्ने गर्दछन् । धार्मिक आस्थासँग जोडिएको यो परम्पराअन्तर्गत कृषिमा समृद्धि र भोकमरी नहोस् भन्ने कामना गर्ने गरिन्छ ।

लिङ्गो फेरेसँगै चन्दननाथ–भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा रहेको समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । “यसले मार्सी धानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास छ । दशकअघिसम्म लिङ्गो फेर्ने अवसरमा कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो”, उहाँले भन्नुभयो ।

जुम्लाबाट अन्न र पैसा, कालीकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का तथा मुगुबाट मास, मुगी दाल, राडीपाखीलगायत सामग्री ल्याउने चलन थियो । अहिले यो परम्परा रोकिएको चन्दननाथ–भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले बताउनुभयो ।

मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलनअनुसार सोमबार स्थानीयले घरघरमा घटस्थापना गरेका छन् । मन्दिरमा जय स्तम्भसहित पाँच वटा लिङ्गा खडा गरिएको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी समितिको कार्यालयले जनाएको छ ।
रासस

तपाईको प्रतिक्रिया