बैतडीमा सामूहिक जमरा राख्ने प्रचलन

  १० घण्टा अगाडि

बैतडी, ७ असोज : दसैँको पहिलो दिन सोमबार यहाँका शक्तिपीठ तथा मन्दिरमा जमरा राखेर घटस्थापना गरिएको छ । शक्तिपीठ तथा मन्दिरमा सामूहिक जमरा राख्ने प्रचलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो । घरघरबाट जौ ल्याएर मन्दिरमा सामूहिक रूपमा जमरा राख्ने चलन रहिआएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका सबैजसो मन्दिर तथा शक्तिपीठमा सामूहिक रूपमा जमरा राख्ने चलन रहिआएको छ । जिल्लाका प्रसिद्ध शक्तिपीठमा सोमबार सामूहिक रूपमा जमरा राखिएको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी लोकराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँघरका सबै दर्शनार्थीले घरघरबाट जौ र अन्य पूजा सामग्री ल्याएपछि जमरा राखिन्छ ।

यहाँको प्रसिद्ध त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, फाल्ङाशैनी, कालशैनीलगायत शक्तिपीठमा सामूहिक जमरा राखिएको छ ।

त्यस्तै, सिँगास, केदार, शिवनाथ, जगन्नाथ, नागार्जुन, वासुलिङ्ग, दोगडाकेदार, महारुद्र, उदयदेव, अनिरुद्र, भूमिराजलगायत मन्दिरमा सामूहिक रूपमा जमरा राखिएको छ । मन्दिरमा जमरा राखेपछि नवरात्र सुरु भएको छ । मन्दिरमै बसेर नवरात्र उपासना गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

शक्तिपीठ तथा मन्दिरमा जमरा राख्नु अघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरमा देउरो लग्ने चलन रहिआएको छ । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भण्डार घरबाट भगवतीको सवारी गराएपछि सामूहिक जमरा राखिएको मन्दिरका मूल पुजारी देवदत्त भट्टले बताउनुभयो । सामूहिक रूपमा जमरा राख्ने प्रचलनले सामाजिक सद्भाव पनि कायम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नवरात्र सुरु भएसँगै देवीदेवताका मन्दिरमा भक्तजनको घुइँचो बढेको छ । बसाइँसराइ गरेर गएका पनि दसैँको समयमा थातथलोमा फर्कने भएकाले शक्तिपीठ तथा मन्दिरमा घुइँचो लागेको हो ।
रासस

तपाईको प्रतिक्रिया