दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए

  १० घण्टा अगाडि

काठमाडौँ, ७ असोज : ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् ।

पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिनुभयो । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उहाँको भनाइ छ ।

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीको कूल सङ्ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए ।

फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ । ती कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए । कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन् । बालसुधार गृहबाट नौ सय ६३ जना भागेका थिए । प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ । दश जना कैदीबन्दीको भने मृत्यु भएको छ ।
रासस

तपाईको प्रतिक्रिया