भोजपुर, ६ असोज : यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेले कृषि सङ्कलन केन्द्रका लागि टोल–टोलमा भवन निर्माण थालेको छ । टोलस्तरमा उत्पादन भएका रैथाने तथा कृषि उपजको सङ्कलन गरेर बजारीकरण लक्ष्यले टोल भवन निर्माण थालेको हो ।
वडाका टोलस्तरमा रहेका विभिन्न कृषि उपज सङ्कलन गरेर बजासम्म लैजाने उद्देश्यले भवन निर्माण भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । वडाले ‘बैकुण्ठेको कृषि उत्पादन, काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ काम गरिरहेकोले कृषि उजको सङ्कलनको लागि भवन निर्माण गरिएको उहाँको भनाइ छ ।
नवनिर्मित भवनमा स्थानीयवासी भेला भएर आवश्यक छलफल, बैठकलगायतका कार्यक्रमसमेत गर्न सक्ने उहाँले जानकारी दिनुभयो । “कृषि उपजको सङ्कलन केन्द्रको रुपमा विकास गर्न ‘एक टोल एक भवन’ निर्माणको अवधारणा लिएका छौँ” वडाध्यक्ष आचार्यले भन्नुभयो,“गाउँ–गाउँमा सङ्कलन भएका कृषि उपजलाई भेला गरेर बजारसम्म पु¥याउने लक्ष्य छ । त्योसँगै स्थानीयले टोलका आवश्यक बैठक, भेला पनि यहाँबाट सञ्चालन गर्न सक्छन् ।” यहाँ निर्माण भएका भवनलाई वडाको उपकृषि सङ्कलन केन्द्रको रुपमा विकास गरिने वडाध्यक्ष आचार्यले बताउनुभयो ।
टोल भवन निर्माणले गाउँघरमा हुने भेला, बैठक सञ्चालनमा सहजता भएको स्थानीयवासी रामकुमार राईले जानकारी दिनुभयो । भवनबाट टोलस्तारमा उत्पादन भएका कृषि उपजहरुको सङ्कलन गरेर बेचबिखन गर्न सक्ने वातावरण बनेको उहाँको भनाइ छ ।“टोल भवन नहुँदा हामीलाई धेरै समस्या थियो”उहाँले भन्नुभयो,“भवन अभावमा भेला बैठक सडकमा बस्नुपर्ने अवस्था थियो । घाम, पानीमा बैठक बस्न असहज हुन्थ्यो । भवन निर्माणले विभिन्न काम गर्न सहज छ ।”
टोल भवनबाट अन्य कामका अलवा, गाउँघर स्वस्थ्य क्लिनिक, आमा समूह, महिला समूह, बालसमूहलगायतको बैठक सञ्चालनमा सहजता भएको वडासदस्य जानुका सुयलले जानकारी दिनुभयो ।
भवन नहुँदा गाउँघर क्लिनिक सञ्चालनमा धेरै समस्या हुने भए पनि अव भने सहजता भएको उहाँको भनाइ छ । साविक नौ वटा टोल रहेको वडामा हालसम्म चार वटा भवन निर्माण भएको उहाँले जानकारी दिनुभयो । अन्य टोलमा पनि क्रमशः भवन निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
वडाले थालेको टोल भवन तथा कृषि सङ्कलन केन्द्र निर्माणको काम उदाहरणीय रहेको स्थानीयबासी राजिन राईले बताउनुभयो । टोलमा भवन निर्माणले स्थानीयस्तरका विविध समस्या बारेमा छलफल तथा भावी योजना निर्माणका लागि एकजुट हुन सहजता भएको उहाँको भनाइ छ ।
रासस





